बिराटनगर: झापा र मोरङमा खोलाले बगाउदा र करेन्ट लागेर ४ जनाले ज्यान गुमाएका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङ र झापाको २ स्थानमा खोलाले बगाएर एक बालिकासहित २ जनाको मृत्यु भएको हो भने दुई जनाको ज्यान करेन्ट लागेको गएको हो । झापाको कमल गाउँपालिका ५ का ३५ बर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो । शनिवार दिउँसो साँढे १ बजे चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा राईलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनलाई खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल सोही खोलाको डिलमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसैगरी मोरङको कटहरी गाउँपालिका ७ की ६ बर्षीया दिक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ । शनिवार दिउँसो ३ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर दिक्षा बेपत्ता भएकी थिइन् । उनलाई खोजतलास गर्ने क्रममा राती पौने १ बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण मृत अवस्थामा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु

यसैगरि, झापा र मोरङमा शनिवार दिउँसो करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । झापाको मेची नगर नगरपालिका १४ का २७ बर्षीय चक्र बहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेका वायरिङका तारहरु संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर भुजेल घाईते भएका थिए । उनलाई उपचारको लागी झापाको बि.एण्ड सी.अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका ९ का ३२ बर्षीय खेम बहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार अपरान्ह ५ बजे घर अगाडि रहेको बिजुलीको पोलमा रहेको वाईफाईको तारलाई बाँसले मिलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाईते भएका थिए । उनलाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी लैजाने क्रममा अस्पताल पुग्नासाथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । सोही घटनामा घाईते भएकी उनका श्रीमती ३० बर्षीया कला भुजेलको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।