धरान: घरबाट बाहिर निस्कदै हुनुहुन्छ भने मास्क लगाउनु भएको छ कि छैन ? अब होसियार रहनुस् । किनभने, मास्क नलगाई घरबाहिर निस्किए अब प्रहरीले पक्राउ गर्ने भएको छ ।

लकडाउन खुकुलो भएसँगै सर्वसाधारणहरुको आवतजावत बाक्लिएको तर सचेतनामा ख्याल नगरेको पाइए पछि गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मन्त्रालयले संक्रमण फैलन नदिन यस्तो निर्देशन दिएको हो । मास्क विना हिड्नेलाई मन्त्रालयले संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

आज सोमबारदेखि नै यो नियम लागु भइसकेको छ । सरकारले लकडाउन खुकुलो बनाउदै गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने नियम लागु गरेको थियो । तर सर्वसाधारणहरुले यसलाई पालना नगरे पछि संक्रमणको जोखिम बढ्दै गएको थियो ।