धरान: डाक्टरको प्रेस्क्रिप्सन(सिफारिश पुर्जी) विना औषधी बिक्री गर्ने धरानको भानुचोकस्थित एक मेडिकल हलका सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुमन मेडिकल हलमा सञ्चालक ५३ बर्षीय विनयकुमार गुरुङ रहेका छन् भने मेडिकल पसलमा औषधी खरीद गर्ने धरान १० का २० बर्षीय सम्यक श्रेष्ठ, धरान १५ का २२ बर्षीय सहबाज सिद्धिकी, २९ बर्षीय अमिर नेपाली र २२ बर्षीय अर्जुन बराइली रहेका छन् । उनीहरुको साथबाट डाक्टरको प्रेस्क्रिप्सन नभएको औषधीहरु DECOLIC, PREGSTAR-M र APABALIN वरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार मेडिकल हलबाट डाक्टरको सिफारिश विना औषधी बिक्री भइरहेको भन्ने सुचनाको आधारमा निरन्तर निगरानी गर्दा पुष्टि भएपछि पक्राउ गरिएको हो । ‘डाक्टरको प्रेस्क्रिप्सन विना नै निरन्तर बिक्री भइरहेको पाइयो । युवाहरुले २, ३ वटा औषधीलाई मिसाएर नशाकोरुपमा प्रयोग गर्ने गरेको रहेछ,’डिएसपी बस्नेतले भने ।

युवाहरुको साथबाट वरामद भएको औषधी मेडिकल हलबाट पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वरामद भएको औषधीसहित थप अनुसन्धान र कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।