धरान: प्रदेश एकको इलाम र झापा जिल्लाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलामबाट लागुऔषधसहित एक जना र झापाबाट २ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार ईलामको चुलाचुली गाउँपालिका ४ बाट बिहिवार साँझ ६ बजे स्थानीय २९ बर्षीय तारा लिम्बु पक्राउ परेका हुन् । प्रहरीका अनुसार स्पापेन ट्याब्लेट १०० पिस र ट्रामोडोल ३०० ट्याब्लेट पिस लागुऔषध र २ थान मोवाइलसहित घरैबाट पक्राउ गरेको हो ।

यस्तै, झापाको दमक नगरपालिका १ बाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहिवार राती ११ बजे ईलामको चुलाचुली गाउँपालिका ३ घर भए पनि दमक १ मा बसोबास गर्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ ३ का १६ बर्षीय रोहन राईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ४९.१ ग्राम ब्राउन सुगर र ५२ हजार ६ सय ५ रुपैयाँ नगद वरामद भएको प्रहरीको भनाई छ । पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।