धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमित १० जना निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा ४ बर्षका बालक पनि छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठान प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा ३ जना पुरुष र ७ जना महिना छन् । उनीहरु असार १०,१७, १८ र २२ गते भर्ना भएका पनि प्रतिष्ठानले जानकारी दिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा प्रतिष्ठानमा थप कोही पनि भर्ना भएका छैनन् भने हाल ३५ जना पिसिआर पोजेटिभ देखिएका व्यक्तिहरु उपचाररत अवस्थामा रहेको प्रतिष्ठानका सहायक प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानबाट हालसम्म २२७ जना उपचार पश्चात निको भएर डिस्चार्ज भइसकेका छन् । यस्तै, प्रतिष्ठानमा हालसम्म ११ हजार १ सय ६४ स्वाबको नमुनाको पिसिआर परीक्षण भएको पनि डा.श्रेष्ठले जानकारी दिए ।