धरान: विदेशबाट आएर धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बसिरहेका चार जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

संक्रमितहरुमध्ये २ जना बहराइनबाट आएका हुन् भने २ जना साउदी अरबबाट आएक हुन् । चारै जना संक्रमित पुरुष हुन् । योसँगै धरानमा १० जना संक्रमित संख्या पुगेको छ । ती मध्ये १ जना मात्र वडा नं १३ की महिलामा देखिएको हो । अरु सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण पुष्टि भएको हो ।

धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित मध्ये बहराइनबाट आएका एक जना धरान वडा नं १३ का ६६ बर्षका पुरुष छन् भने अर्का धरान ८ का ३८ बर्षीय पुरुष छन् ।यस्तै, साउदीबाट आएका वडा नं ५ का २६ बर्षीय पुरुष र धरान ८ का २५ बर्षीय पुरुष हुन् । बहराइनबाट २२ गते काठमाण्डौं आएकाहरु २३ गते एन्फा क्वारेन्टाइनमा आएका थिए । यस्तै, साउदीबाट २३ गते काठमाण्डौं आइपुगेका युवाहरु २४ गते धरानको एन्फा क्वारेन्टाइनमा आएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए ।

उनका अनुसार असार २४ गते धरानमा क्वारेन्टाइन्मा रहेका ४२ जनाको स्वाब संकलन गरिएको थियो । ती मध्ये ३८ जनाको नेगेटिभ आएको र ४ जनाको मात्र पोजेटिभ रिपोर्ट आएको हो । पोजेटिभ रिपोर्ट आएकाहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाइने उनले बताए । अन्यलाई भने आवश्यक समन्वय गरेर डिस्चार्ज गरिनेछ । संक्रमितहरुको सम्पर्कमा कोही भए पुनः स्वाब नमुना संकलन गरिने पनि उनले बताए ।