धरान: एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदानमा सञ्चालिन धरानको खानेपानी आयोजनामा भ्रष्टचार भएको भन्दै खर्चको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै धरान उपमहानगरपालिका घेराउ गरिएको छ ।

दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिको नेतृत्वमा बुधबार उपमहानगरपालिका घेराउ गरिएको हो । सो क्रममा आन्दोलनकारीहरुले उपमहानगरपालिकालाई चिडियाखानाको संज्ञा पनि दिएका छन् । आन्दोलनकारीहरुले मुलगेटमा तालाबन्दी गर्न खोजे पनि प्रहरीको कडा सुरक्षाको कारण तालाबन्दी हुन सकेन । जनप्रतिनिधिहरु नगरसभा भएको कारण उपमहानगरपालिकामा थिएनन् । तालाबन्दी पनि गर्न नसकेपछि धरान चिडियाघरको ब्यानर गेट आन्दोलनकारीले छेउमा राखेका थिए ।

gherau

आन्दोलनकारीहरुले खानेपानी आयोजनामा करोडौं भ्रष्टचार भएको दाबी गर्दै खर्चको हिसाब पटक पटक माग गरे पनि नदिएको भन्दै उपमहानगरपालिकामा मान्छे नबसि जनावरहरु मात्र बस्ने भन्दै चिडियाखानाकोरुपमा घोषणा गरेका हुन् । समितिका संयोजक हर्क साम्पाङले भुमिगत स्रोतबाट १ करोड ५२ लाख २० हजार लिटर दैनिक खानेपानी उत्पादन गर्ने भनिए पनि आयोजनाले उत्पादन गर्न नसकेको बताए ।

यस्तै, उनले थप २ वटा वेलहरु खनिएको भए पनि ती एक साता नपुग्दै भासिएकोले पनि आयोजना असफल भएको दाबी गरे । उनले आयोजना असफल हुनुको कारण सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् । बर्षाको समयमा पनि खानेपानी अभाव भएको र धारामा पानी नआउनु दुःखद भएको उनले बताए । ‘यो कसको लापरवाही हो ? असार मसान्तमा पानीको आन्दोलन गर्नुपर्ने अवस्था छ, दुनियाँ हास्ने भयो,’उनले भने ।

gherau2

आन्दोलनकारीहरुले खानेपानी संस्थान र आयोजनालाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज नगर्न पनि माग गरेका छन् । संस्थानलाई मर्ज गरिए कडा आन्दोलन गर्ने पनि उनीहरुले चेतावनी दिएका छन् । जनसरोकार मञ्चकी उपाध्यक्ष तुलसा गुरुङले पानी नआए पनि संस्थान र आयोजनाको बिल आउने गरेको बताइन् । आइपुडिपीले पानी खुवाउनै नसकेको भन्दै उनले पनि खानेपानीमा भ्रष्टचार भएको बताइन् ।