धरानः सुनसरीकाे देवानगन्जमा प्रहरी र तस्करबीच गाेलीहानाहा भएकाे छ । सीमावर्ती क्षेत्र समेत रहेकाे देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की छेउमा गएराति  प्रहरी र भारतीय तस्करहरूबीच गोली हानाहान भएको सुनसरी प्रहरीले जानकारी दिएकाे छ ।

साे घटनामा दुई तस्कर घाइते भएका छन् । अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।

घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ । भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई जाँच गर्ने क्रममा गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए। उनका अनुसार हतियार देखेर खाेस्न थालेपछि प्रहरीलाइ गाेली हान्न खाेजेका थिए ।

तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ । गस्तिमा रहेको प्रहरी टोलीले ३ जना भारतीय नागरिकसहित २ वटा मोटरसाईकलमा आएका ५ जनाको समुहलाई रोकेर चेकजाँच गर्ने क्रममा एक्कासी प्रहरी टोलीलाई लक्षित गरी गोली हानेका थिए । प्रहरीको तर्फबाट समेत जवाफी फायर हुँदा दुई जना घाईते भएको तथा अन्य ३ जना भारत तर्फ नै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।