धरान: नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र न.१ प्रदेश सभा (क) क्षेत्रीय समितिको कार्यालय धरानमा स्थापना गरिएको छ ।

धरान–१२ स्थित अमान बजारमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो । प्रदेश सभा सांसद चन्द्रप्रसाद श्रेष्ठले कार्यालयको उद्घाटन गरेका थिए । कांग्रेसको महाधिवेशन नजिकिदै गरेको बेला पार्टी कार्यालय स्थापना भएपछि सांगठनिक गतिविधिहरु बढ्ने अपेक्षा गरिएको छ । उद्घाटन समारोहका वक्ता नेताहरुले पनि कार्यालय खुलेकोमा खुशी व्यक्त गर्दै गुटबन्दी अन्त्य गर्नुपर्ने धारणा राखेका थिए ।

प्रमुख अतिथिसमेत रहेका सांसद श्रेष्ठले सहमति गर्न सकिने अवस्था भएको धारणा राख्दै गुटबन्दी गर्न आवश्यक नभएको बताए । साथै उनले पार्टीले नयाँ, पुराना सबै कार्यकर्ताहरुलाई समेट्न पनि सुझाव दिए । केन्द्रीय नेताहरु तटस्थ रहन नसक्दा गुटबन्दीले तल्लो तहसम्म प्रश्रय पाएको उनको भनाई थियो । कांग्रेस जिल्ला सचिव केदार भण्डारीले उपनिर्वाचनको बेला धरानमा सबै नेता, कार्यकर्ताहरुले एकता प्रर्दशन गरेर जित हासिल गरेको उदाहरण दिदै गुटबन्दी अन्त्य नगरे पार्टी कमजोर हुने र आगामी तीनै तहको निर्वाचनमा नतिजा हात पार्न गाह्रो हुने बताए ।

congress 1

अर्का जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले पनि गुटबन्दी अन्त्य र एकतामा जोडदिएका थिए । क्षेत्रीय समिति क सभापति धनबहादुर कटवालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व नगरसभापति किशोर राई, प्रजातन्त्रवादी प्राध्यापक संघका सुनसरी जिल्ला सभापति प्राध्यापक गंगाप्रसाद चौलागाई, कांग्रेस नगर समिति उपसभापति महेन्द्र तामाङ, क्षेत्र ख सभापति मुरारी भट्टराई, सचिव रमेश काफ्ले, महिला संघ सुनसरी सचिव निर्मला शाक्यलगायतले पनि मन्तव्य राखेका थिए ।

congress1