धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी युनिट वान वार्डमा एक विरामीको मृत्यु भएपछि मृतक परिवारले उपचारमा लापरवाही भएको आरोप लगाएका छन् ।

आज बिहान धरान २ की ७० बर्षीय भिमश्वरी ल्वागुनको निधन भएको थियो । परिवारजनले उनको शव बुझ्न मानेका छैनन् । केही दिनदेखि उनी सर्जरी युनिट १ को बेड नम्बर १७ मा उपचाररत थिइन् । दिसा जाम भएपछि उनलाई परिवारले उपचारको लागि वीपी प्रतिष्ठान लगेका थिए । मृतककी नातेदार केदार बराइलीका अनुसार विरामी रातभरी छटपटिदा पनि डाक्टर हेर्न आएनन् । हिजो अप्रेशन गर्ने भनेर सबै सामान खरीद गर्न लगाएर पनि अन्तिममा आइसियु छैन भन्दै अप्रेशन नगरेको उनले बताए ।

मृतक परिवारका अनुसार यहाँ अप्रेशन नहुने भए विराटनगर जाने भन्दा पनि लैजान अनुमति दिएनन् । ‘उपचारमा हदै लापरवाही भयो, हामीले शव बुझेका छैनौं,’उनले भने ।