धरान: प्रेस संगठन सुनसरीले कोभिड–१९ महामारीले गर्दा प्रभावित भएको सञ्चारमाध्यम एवं श्रमजीवी पत्रकारहरुलाई बिशेष राहत प्याकेज ल्याउन माग गरेको छ ।

संगठनका संयोजक श्रीशिशा राई र सहसंयोजक शेखर ढकालले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिसंग यस्तो माग गरेको हो । कोभिडको कारण बन्द भएका सञ्चारमाध्यमहरुलाई पुनः सञ्चालन गर्न तथा श्रमजीवी पत्रकारहरुको दैनिकी सहज बनाउन बिशेष पत्रकारिता राहत प्याकेज घोषणाको पहल गर्न संगठनले माग गरेको छ । कोभिड महामारीका कारण थुप्रै श्रमजीवी पत्रकारहरुको सेवा सुविधा कटौती भएको छ भने कतिपय बेरोजगार हुनुपरेको कारण राहत प्याकेज ल्याउनुपर्ने संगठनले माग गरेको छ ।

यसैगरि, संगठनले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरण र पुरानो सदस्यता नवीकरण यो बर्ष निःशुल्क वितरण गर्न माग गरेको छ । संगठनले यो मागलाई सुनसरी जिल्लाबाट कार्यान्वयन गर्नको लागि पनि महासंघको जिल्ला समितिसँग जोडदार माग गरेको छ । यस्तै, लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित र सहज बनाउदै अविलम्ब वितरणको पहल गर्न, महामारीका कारण विभिन्न सञ्चारमाध्यमबाट निष्कासित गरिएका र सेवासुविधा कटौतीमा परेका श्रमजीविहरुको पुर्नवहाली र पुर्ण सेवासुविधाको ग्यारेन्टीको पहल गर्न पनि संगठनले माग गरेको छ ।

नेपाल पत्रकार महासंघ सुनसरी र १ नं. प्रदेश शाखालाई पनि यो पत्र बोधार्थ पठाइएको छ । सुनसरीबाट कुल १० दैनिक र २७ साप्ताहिक प्रकाशन हुदै आएकोमा अधिकांशका कार्यालय अझै बन्द छन् । जिल्लामा सञ्चालित १८ एफएम, ४ टेलिभिजन र २५ अनलाईन न्युज पोर्टलहरु जसोतसो सञ्चालनमा भइरहे पनि चरम आर्थिक सङ्कटमा रहेको संगठनको भनाई छ ।

press