धरान: एक जना कोरोना संक्रमित व्यक्ति खुलेआम बजार घुमेको र भेटघाट गरेको खुलेपछि कन्ट्याक ट्रेसिङको आधारमा इरुनवाका ४१ जनाको स्वाब संकलन गरिएको थियो । ती सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रशासनले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार इनरुवाका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङको आधारमा तीन दिनअघि संघीय सांसद सीताराम मेहतासहित ४१ जनाको स्वाब लिइएको थियो । तिनमा संक्रमितको परिवारका १२ जना पनि थिए । इनरुवा घर भएको र विराटनगरमा डिउटी रहेका एक प्रहरी संक्रमित भएको रिपोर्ट आउपछि साउन ९ गतेदेखि इनरुवा बजार क्षेत्र पुर्णरुपमा लकडाउन छ ।

शंकास्पद सबैको रिपोर्ट नेगेटिभ आएपनि लकडाउन खुला गर्ने कि नगर्ने भनेर स्थानीय तहसँग छलफल पछि मात्र निर्णय गरिने प्रजिअ पोखरेलले बताउ । ‘भिडभाड कसरी कम हुन दिने, बजार कसरी व्यवस्थित गर्ने भनेर सल्लाह गछौं, र मात्र लकडाउन के गर्ने भनेर थप निर्णय गछौं,’उनले भने ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले ४१ जनाको रिपोर्ट नेगेटिभ आए पनि विगतमा लकडाउन खुलेजस्तो गरि बजार, पसल खुला गर्न नदिइएको प्रष्ट पारे । उनले आजै बैठक बस्ने र बजार कुन समयमा, कसरी खोल्न दिने भनेर निर्णय हुने पनि बताए । ‘सबैको रिपोर्ट नेगेटिभ आएपनि राज्यले लकडाउन खोलेजस्तो खुल्दैन । प्रशासन, उद्योग वाणिज्य संघसँग बसेर सधै बजार नखोल्ने, कसरी खोल्ने, कसरी जाने भनेर बैठक गछौं,’उनले भने,‘आजै बैठक बस्छौं, र केही नभएजस्तो पाराले खुल्दैन ।’