धरान: धरान उपमहानगरपालिका वडा नं ४ ले पोहोर साल गैरीगाउँ हुदै कालीमाटी बाटोको ट्रयाक खोल्यो । धरानको दुर्गम वडामा पर्ने ४ नम्बर वडामा बाटोको ट्रयाक खुल्दा खुशी छाउनु स्वभाविक थियो । तर, त्यही बाटोको कारण अहिले ३ घर विस्थापित हुने अवस्थामा पुगेको छ ।

कालीमाटीमा एउटा सानो खोल्सी थियो । त्यहाँबाट जरुवा पानी बग्थ्यो । बाटो ट्रयाक त्यहीबाट खोलियो । जब बर्षा भयो, बाटोको पानी खोल्सामा जमेर तल गाउँतिर डोलिएर झर्न थाल्यो, र पहिरोको जोखिम बढायो । पोहोर साल नै त्यसरी गएको पहिरोले भिममाया राईको घरमा क्षति पुगेको थियो । झन् यसपाली त उनको मात्र होइन, छिमेकी शिवलक्ष्मी राई र गोपीलाल राईको घरमा पनि उच्च जोमिममा पारेको छ । यसपाली यी ३ घरलाई क्षति नै त पुगेको छैन, तर ३ घरको बीचबाट पहिरो झरेको छ । त्यो पहिरोले खेतमा धेरै क्षति पुगेको छ ।

वडा नं .४ का सदस्य धनबहादुर कुलुङका अनुसार घरमा राती बस्न सक्ने अवस्था छैन । दिउँसो खाना खाएर राती आफन्तकोतिर सुत्न जान्छन् । भिममाया आफन्तकोमा परिवारसहित गएका छन् भने शिवमायाको परिवार जोखिमपुर्ण भएपछि घरमै बस्छन् । छिमेकी गोपीलाल उनकोमा बसेका छन् । ‘दिउँसो खाना खान आउछन्, राती अन्तै सुरक्षित ठाउँमा बस्छन्,’उनले भने,‘पहिरो झर्ने ठाउँमा खोल्सी थियो, जरुवा पानी थियो । पोहोर बाटो खनियो, र त्यहीबाट हो पहिरो जान थालेको ।’

'जनताको माग अनुसार बाटो खोल्यौं'

wada-4-pahiro, 1

बाटो खोलेपछि पहिरो जान थालेकोले अब के गर्ने भन्ने अन्योलमा छन्, वडा नं ४ का अध्यक्ष मानबहादुर राई । उनका अनुसार स्थानीयको माग अनुसार नै कालीमाटी हुदै बाटोको ट्रयाक खोलिएको हो । तर, पोहोरदेखि बर्षामा पहिरो जान थालेपछि उनी चिन्तित छन् । ‘पोहोर पनि त्यहीबाट पहिरो गएर भिममायाको घरमा क्षति भयो । तारजाली लगाएका थियौं, यसपाली पनि फेरि पहिरो खस्यो,’उनी भन्छन्,‘बाटोको पानी जमेर तल झर्दा लेदोसहित आउछ ।’

अध्यक्ष राईका अनुसार हिजो(शुक्रबार) वडाबाट ओभरसियर पठाएर नापजाँच गरेका छन् । आइतबार बैठक बसेर कसरी क्षति रोक्ने भनेर निर्णय गरिनेछ । यसपाली पनि वडाले बाटोमा ५ लाख र तारजालीमा ३ लाख बजेट विनियोजन गरेको अध्यक्ष राईले बताए । ‘यसपाली पनि बजेट छ, यस्तो हो भने कसरी काम गर्ने ? जनता उठिबास हुन्छ, विनास हुन्छ भने यस्तो बाटो कसरी खोल्ने ?’उनले भने ।