धरान: उपप्रमुखले सामाजिक सञ्जाल फेसबुकमा दिएको अभिव्यक्तिले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लागेका उदयपुरको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले नगरपालिकाका भ्रष्टचार नभएको दाबी गरेका छन् ।

उपप्रमुख राजकुमारी चौधरीको फेसबुक स्टाटसलाई आधार बनाएर समाचारहरु प्रकाशित भएपछि आज आइतबार पत्रकार सम्मेलन गर्दै प्रमुख थापाले भ्रष्टाचारका विरुद्धमा निरन्तर प्रयास गरेको र सुशासन अभिवृद्धिमा नगरपालिका लागिपरेको बताए । उपप्रमुख चौधरीले आफ्नो फेसबुक स्टाटसप्रति साउन ११ गते विज्ञप्ती जारी गर्दै आत्मालोचना गरिसकेकोले यो प्रकरण मानवीय कमजोरीको कारण भएको पनि स्पष्ट भएको प्रमुख थापाले बताए । ‘एउटा खण्डन भइसकेको स्टाटसलाई आधार बनाएर कपोलकल्पित भ्रष्टाचारको आरोप लगाई प्रोपोगण्डा मच्चाउने पक्षलाई भ्रष्टाचार प्रमाणित गर्न खुला चुनौती दिन्छौं,’उनले भने,‘भ्रष्टचार नियमनको लागि गठित अख्तियार लगायतका निकायहरुमा गई कार्यवाही गराउन आग्रह गरिन्छ ।’

हिजो(शनिबार) कार्यपालिकाको पुर्णबैठकले पनि बेलका नगरमा भ्रष्टाचार नभएको निर्णय गरेको जानकारी दिदै प्रमुख थापाले दिए । तर, फेसबुक स्टाटसलाई आधार बनाएर विपक्षी राजनीतिक दलहरुले आन्दोलन गरिरहेकाप्रति भने उनले आन्दोलनको माग नगरसम्म नआइपुगेको पनि बताए । मागपत्र वा गुनासो आएमा खोजविन गर्न नगर प्रवक्ता मोहन घिमिरे संयोजक र दिनेश्वर चौधरी, राजकुमार राई सदस्य रहेको अध्ययन समिति पनि गठन गरेको प्रमुख थापाले जानकारी दिए । नगरमा संक्रमण देखिएको, अबिरल बर्षाले जनताहरु प्रभावित भइरहेकोले बिषम परिस्थितिमा वार्ताको आग्रह गर्दा पनि धर्ना, जुलुस भइरहेको प्रमुख थापाको भनाई छ । ‘शान्तिपुर्ण वातावरणमा प्रजातान्त्रिक ढंगले वार्तामा आउन सबै पक्षलाई अनुरोध गर्दछौं,’उनले भने ।

belaka