धरान: शारदा वालिका माविको २०५४ एसएलसी ब्याचका विद्यार्थीहरुले धरान ८ स्थित लांघाली सामुदायिक वन समुहमा राखिएका सडकआश्रित मानवहरुलाई सहयोग गरेका छन् ।

उनीहरुले सडकआश्रित मानवहरुलाई हरियो र सुख्खा तरकारीहरु सहयोग गरेका हुन् । उनीहरुले सडक मानवहरुलाई व्यवस्थापनको जिम्मा लिएको माया घर नेपाल, इटहरीकी अध्यक्ष राधिका दासीलाई तरकारी हस्तान्रतण गरेका थिए । कुल २६ हजार बराबरको तरकारी सहयोग गरिएको महिला सञ्जाल धरानकी अध्यक्ष एवं २०५४ एसएलसी ब्याचकी विद्यार्थी सविता राईले जानकारी दिइन् । उनका अनुसार माया घरकी अध्यक्षले तरकारी अभाव भएको जानकारी गराएपछि साथीहरुसँग समन्वय गरेर सहयोग गरिएको हो ।

mayako

उनका अनुसार लकडाउनको कारणले विगतमा टाढा भएका साथीहरु फेसबुकमार्फत पुर्नमिलन भएको थियो । तिनै साथीहरुसँग मिलेर सहयोग गरिएको पनि उनले बताइन् । सहयोगको लागि जापानमा रहेका अनिता केसीले १० हजार, युकेमा रहेका सब्बु रानाले ५ हजार सहयोग गरेका छन् भने धरानमा रहेका रुसी प्रधान, विमला नाछिरिङ, सविता तामाङ, मन्दिरा दाहाल, पानस गुरुङ र विर्तामोडमा रहेकी जोना रेग्मीले पनि सहयोग गरेका छन् ।

सडक मानवहरुको लागि आलु, प्याज, टमटार, बन्दा, चना, मटर, न्युटेलालगायत सहयोग गरिएको बताइन् । लांघालीको आवास गृहमा माया घर नेपालकी अध्यक्ष राधिका दासीलाई हिजो सहयोग हस्तान्तरण गरिएको थियो । धरानमा रहेका सडक आश्रित मानवहरुलाई कोरोना संक्रमणबाट जोगाउन सडकबाट उद्दार गरि धरान उपमहानगरपालिकाले लांघाली वन समुहको आवास गृहमा राखेको थियो । गत बैशाख १ गतेदेखि उपमहानगरपालिका आफैले व्यवस्थापनसमेत गरिरहेको सडक मानवहरुलाई पछिल्लो समय इटहरीस्थित माया घर नेपालको जिम्मा लगाएको छ ।

पितृहरुको सम्झनामा सहयोग

maya

धरान ११ न्युरोड लाइनका छविका राई र शान्ति चोकका पुर्णकला राई परिवारले पनि माया घर नेपाललाई सहयोग गरेका छन् ।
उनीहरुले आज लांघाली वन समुहमा पुगेर खाद्यान्न सहयोग गरेका हुन् । महिला सञ्जालकी अध्यक्ष सविता राईको समन्वयमा छविका राई र उनका श्रीमान् धनप्रसाद राई, पुर्णदेवी राई र श्रीमान् ध्यानबहादुर राईले सहयोग गरेका हुन् ।

छविका र पुर्णकला राई दिदी बहिनी हुन् । उनीहरुले चामल ५० केजी, आलु, प्याज, बन्दाकोपी एक एक बोरा प्रदान गरेका छन् भने तेल, दाल, चिनी, चियारंगलगायत पनि खाद्यान्नहरु सहयोग गरेका हुन् । आफ्ना पितृहरुको स्मृतिमा सडक मानवहरुको लागि आवश्यक खाद्यान्न सहयोग गरिएको छविका राईले बताइन् ।