धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट(जेआर) डाक्टरहरुले विभिन्न ९ सुत्रिय माग राखेर आन्दोलन शुरु गरेका छन् ।

दुई दिनअघि शुक्रबार प्रतिष्ठानका पदाधिकारी र प्रशासनमा ९ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका जेआरहरुले आज (आइतबार)देखि हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । कालोपट्टी बाँधेको २४ घण्टाभित्र माग पुरा नभए सम्पुर्ण जेआरहरुले इमर्जेन्सीबाहेक अन्य कुनै पनि डिउटीमा भाग नलिने घोषणा जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले गरेको छ । कोभिड १९ को व्यवस्थापनमा जेआरहरु खटिदै आएपनि धेरै समस्या खेप्नु परिरहेको भन्दै सोसाइटीले विभिन्न मागहरु अघि सारेको डाक्टर देवराज घिमिरेले जानकारी दिए ।

के छ ९ बुँदे मागमा ?

स्वास्थ्य मन्त्रालयले जेआरहरुलाई डिउटीमा खटाउदा लगातार १४ दिन र दैनिक १० घण्टाभन्दा बढी खटाउन नमिल्ने निर्देशिका जारी गरेको छ । तर, प्रतिष्ठानमा भने एउटै विभागको १ महिनासम्म डिउटी राखिएकोले मन्त्रालयको निर्देशिका अनुसार मात्र डिउटी राख्न सोसाइटीले माग गरेको छ ।

यस्तै, लेभल ३ कोभिड अस्पतालमा चौबिसै घण्टा एक जना कन्सल्टेण्ट कोभिड डिउटीमा फ्लोरमा नै खटिनुपर्ने पनि सोसाइटीले माग गरेको छ । हाल भने कोभिड अस्पतालमा बिहान र बेलुकी राउण्डमा मात्र कन्सल्टेण्ट आउने गरेका छन् भने केही समस्या पर्दा फोन गर्नुपर्ने अवस्था रहेको छ ।

bp-jr1

यसैगरि, डिउटीको समय र त्यसपश्चात क्वारेन्टिनमा बसेका जेआरहरुलाई खाने र बस्ने सुविधामा पुनार्वालोकन गर्न पनि सोसाइटीले माग गरेको छ । हाल उपलब्ध भएको खाना गुणस्तरहिन भएको र खानै नसकिने भएको सोसाइटीको भनाई छ । १२ घण्टा डिउटीमा खटेको जेआरहरु नखाई सुत्नुपर्ने वा कोठाबाट खाना मगाएर खानुपर्ने अवस्था रहेको भन्दै सोसाइटीले यो अव्यवस्था अन्त्य गर्न पनि माग गरेका छन् । यस्तै, कोभिड डिउटीमा खटिएका चिकित्सकहरुको जोखिम भत्ताको बजेट मन्त्रालयबाट आइसके पनि उपलब्ध नभएको भन्दै सोसाइटीले चाडो प्रदान गर्न पनि माग गरेको छ ।

कोभिड अस्पतालमा शव व्यवस्थापनमा पनि जेआरहरुलाई खटाइने गरिएको भन्दै सोसाइटीले उक्त काम तत्काल अन्त्य गर्न पनि माग गरिएको छ । यस्तै, कोभिड अस्पताल सञ्चालनमा आइसकेकोले इमर्जेन्सीमा बनाइएको आइसोलेसन तत्काल बन्द गरि शंकास्पद विरामीहरुलाई कोभिड अस्पतालमा नै सिधै भर्ना गर्न माग गरिएको छ । इमर्जेन्सीमा संक्रमित व्यक्तिसँग सम्पर्क भएर क्वारेन्टिनमा बसेका जेआरहरुलाई क्वारेन्टिनमा बसेको अवधिमा पुनः डिउटीमा नखटाउन पनि सोसाइटीले माग गरेको छ ।