धरान: धरानको विभिन्न ठाउँमा खुकुरी र छुरी देखाएर आतंक मच्याउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान १५ का २९ बर्षीय सुजन राई, १९ बर्षीय सुसन राई र २३ बर्षका मनिष भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालयले उनीहरुलाई हतियार खुकुरी र छुरासहित पक्राउ गरेको हो । तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानले आज हतियारसहित सार्वजनिक गरेको छ । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार आइतबार साँझ ५ बजे धरान १५ बगरकोटस्थित सेउती खोलाको पुलमा धरान ८ का रोमन विश्वकर्मालाई खुकुरी, चक्कु देखाएर कुटपिट भएको थियो ।

सोही घटनाबारे जानकारी पाएर खोजी गर्ने क्रममा उनीहरु सोमबार साँझ पक्राउ परेको डिएसपी बस्नेतले बताए । उनका अनुसार धरान ८ स्थित फलामे पुल नजिक खुकुरी र चक्कु बोकेर सार्वजनिकस्थलमा स्थानीयलाई आतंकित बनाइरहेको अवस्थामा पक्राउ परेका थिए । तीनै जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।