धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा गैरकानुनीरुपमा रुख काटिएको आरोप लागेको छ ।

घर बनाउनको लागि बिहिबार काठ माग गर्दै निवेदन दिएको भनिएका मेयर राईले शनिबार आफ्नै उपस्थितिमा सखुवाको रुख ढालेको उपभोक्ता समुहका पदाधिकारीहरुको आरोप छ । विष्णुपादुका मेयर राईको मावली गाउँ हो । घर बनाउन भन्दै मेयर राईले आमाको नामबाट निवेदन दिएपछि शुक्रबार वन समुहको वैठक बसेर ढलापडा रुख खोजेर दिने सहमति भएको वन समुहका अध्यक्ष बुद्धिमान तामाङले बताए । शनिबार ढलापडा रुख खोज्न जाने भन्दा कोषाध्यक्ष भिम बस्नेतले नभ्याउने भनेपछि आइतबार जाने सहमति भएको थियो ।

तर शनिबार बिहानै मेयर राई आएर कोषाध्यक्षसहित जंगल गएर सालको रुख ढालेको पाइएको अध्यक्ष तामाङले बताए । ‘मेयर ज्युले नै निवेदन दिएपछि खोजेर ढलापडा रुख दिउ न त भन्यौ, तर खडा रुख काट्न हुदैन भन्ने भयो,’वन समुहका अध्यक्ष तामाङले भने,‘शनिबार कोषाध्यक्ष जंगल जान नभ्याउने भनेपछि आइतबार खोज्न जाने सहमति थियो, तर मेयर ज्यु शनिबार बिहानै आएर कोषाध्यक्ष लिएर जंगल जानु भएछ ।’

शनिबार बाख्रा गोठालेहरुले थाह पाएपछि रुख ढालेको बारेमा जानकारी दिएको, र मात्र थाह पाएको वन समुहका अध्यक्ष तामाङको दाबी छ । ‘बेलुका मात्र बाख्रा गोठालेहरुले मेसिन करादैछ, मेयरले रुख ढालेछ भनेर हो हल्ला भयो,’उनले भने,‘बेलुका मेयर पनि आउनु भयो। सल्लाह गर्नुहोस्, नदिने भए नदिने भन्नुहोस्, म फर्किएर आउदिन भन्नुभयो ।’

यो घटना पछि आज (आइतबार) उपभोक्ताहरु रुख काटेको ठाउँमा स्थलगत अवलोकन गर्न पुगेका थिए । सखुवाको रुख मेशिनले काटेर ढालेको र १२ टुन बनाएको अवस्थामा रहेको भेटिएको थियो । उपभोक्ताहरुले काठको माग गर्दा निवेदन पेन्डिङमा राखेको तर मेयरलाई भने निवेदन दिनुबित्तिकै निर्णय पनि नगरि रुख ढालेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

वन कार्यालयका रेञ्जर ईश्वरी बास्तोलाले पनि घटनाबारे जानकारी पाएपछि वन समुहको अध्यक्ष र वडाअध्यक्षलाई फोनमार्फत बुझ्ने काम गरेको बताए । ‘मैले पनि विस्तृत बुझ्न बाँकी नै छ, तर कोषाध्यक्षले लगेर देखायो भन्छन्, वन समुहका अध्यक्षलाई स्पष्ट कुरा चाहियो भनेको छुँ,’उनले भने ।

मलाई थाह छैन: मेयर

यता, धरानका मेयर तिलक राई भने आफुलाई रुख काटिएको बारेमा केही थाह नभएको बताउँछन् । उनले आफुले निवेदन पनि नदिएको दाबी गरे । ‘मलाई केही थाह छैन । मैले निवेदन दिएको पनि छैन,’अनभिज्ञता प्रकट गर्दै मेयर राईले भने ।