धरान: लकडाउनको समयमा धरानमै पनि थुप्रैले आत्महत्या गरे । सोमबार पनि धरान ११ मा एक २२ बर्षीया विवाहित युवतीले आत्महत्या गरेको खबर फैलियो । तर, यो आत्महत्या विगतमा भएजस्तो स्वभाविक भइदिएन ।

माइती पक्षले आफुहरु नआएसम्म लाश नउठाउन भनेपछि झण्डै २४ घण्टासम्म मृतकको शव उनकै कोठामा राखियो । प्रहरीले दिउँसो र राती पनि पहरा दिनुपरेको थियो । माइती पक्ष आएपछि आत्महत्या नभै हत्या भएको आशंका गरिए । शव झुण्डिएको अवस्थामा थिएन । प्रहरीले पनि शव खाटमा राखिएको अवस्थामा मात्र देखेको बताएपछि थुप्रै आशंकाहरु जन्मिए । घरपरिवारका अन्यले दिएको वयानमा विश्वास नगरेपछि तेह्रथुमबाट आएका माइतीले ५ जनाको नाम किटानी गरेर मंगलबार जाहेरी दिए ।

सोही जाहेरीको आधारमा बुधबार इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीको अनुमति लिएर मृतकका ससुरासहित ४ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार माइती पक्षले सिंगापुर पुलिसमा कार्यरत श्रीमान् आइत माबोविरुद्ध पनि जाहेरी दिएका छन् । डिएसपी ज्ञानेन्द्र बस्नेतले घटनाबारे अनुसन्धान शुरु गरिसकेको जनाएका छन् ।

यता माइती पक्षले भने ज्वाईका परिवारलाई आफुहरुले शंका गरेर उजुरी दिएको बताउँछन् । मृतक सोनीकी काका टेकराज तिगेला लिम्बुले झुण्डिएर मरेको अवस्थामा नभेटिएकोले शंका भएको बताए । उनले मृतकले न्याय पाओस् भनेर प्रहरीमा अनुसन्धानको लागि जाहेरी दिएको बताए । ‘मर्नेले न्याय पाओस् । शंका उहाँहरुलाई गरेका हौं, अपराधी भनेको छैनौं,’टेकराजले भने,‘उहाँहरुलाई ज्यानमारा भनेको छैनौं, उहाँहरुले मारेको हो भनेका छैनौं ।’ आफुहरुले देखेको आधारमा र छोरीको घरका परिवारले भनेको कुरा द्धिविधा हुने बोलेको कारण शंकाहरु उब्जिएको उनको भनाई छ ।