इटहरीः क्याम्पस स्थापनाको ३२ वर्षपछि इटहरीको जनता बहुमुखी क्याम्पसले पहिलो महिला क्याम्पस प्रमुख पाएको छ ।

इटहरी निवासी डा.गीता अधिकारी क्याम्पस सेवा प्रवेशको २१ वर्षपछि प्रमुख पदमा नियुक्त भएकी हुन् । वि.सं. २०५६ साल असोज २ गते प्राध्यापकको रूपमा जनता क्याम्पस भर्ना भएकी अधिकारी २०६७ सालमा तत्कालीन क्याम्पस प्रमुख नारद उप्रेतीको कार्यकालमा सहायक क्याम्पस प्रमुख पदमा नियुक्त भएकी थिइन् । यसअघि कोही महिला प्राध्यापक सो पदमा पुगेका थिएनन् । उनलाई गत भदौ २४ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

आइतबार पदभार ग्रहण गरेकी अधिकारीले विश्व कोभिड १९ ले आक्रान्त भएको बेला क्याम्पसको जिम्मेवारी सम्हाल्न पाउनु चुनौतीपूर्ण कार्य रहेको बताइन् । साथै उनले क्याम्पस प्रमुख भएपनि समुदाय, अभिभावक, विद्यार्थी, कर्मचारी र प्राध्यापकको सहयोगले मात्र सफल हुने बताइन् । ‘म एक्लैले परिवर्तन सम्भव छैन,’ उनले भनिन्, ‘सम्पूर्ण क्षेत्रको साथ चाहिन्छ । सबैको सहकार्यमा अघि बढ्छु ।’

आफु क्याम्पस प्रमुख भएपछि क्याम्पसको गुणस्तर बृद्धिमा मुख्य ध्यान जाने उनको भनाई छ । त्यस्तै क्याम्पसमा बेलाबेला भइरहने विवादलाई कसरी निर्मुल पार्ने भन्ने  आफ्नो अर्को ध्यान रहने उनको भनाई छ । कोरोना महामारीमा कर्मचारी, प्राध्यापकलाई तलब खुवाउनु र विद्यार्थीलाई कसरी शिक्षण सिकाई सुरु गर्ने भन्ने कुरा अहिलेकाे प्राथमिकता रहेकाे अधिकारीले बताइन् । महामारीको बेला लिइएको जिम्मेवारीले सफल या असफल बनाउने हात विद्यार्थी, कर्मचारी र प्राध्यापककै भएको बताउने अधिकारी भन्छिन्,‘कर्मचारी, विद्यार्थी र प्राध्यापकको सुविधामा पनि उत्तिकै ध्यान दिन्छु । साथै समुदायको मूल रोल हुन्छ । समुदायलाई इग्नोर गरेर अघि बढ्दिन ।’

अधिकारीले कलेज भित्र नराम्रो वातावरण सृजना हुन नदिने अठोट लिएकी छिन् । छात्राहरूलाई कसरी आकर्षित गर्ने भन्ने योजना चाँडै ल्याउने बताउने उनले निजीभन्दा पहिले जनता क्याम्पसतर्फ विद्यार्थीको आकर्षण हुने वातावरण बनाउन लागि पर्ने बताइन् । त्यसका लागि विद्यार्थी, कर्मचारी र प्राध्यापकसँग छुट्टाछुट्टै बसेर राय लिई योजना बनाउने उनको भनाई छ । ‘सानो समस्याले पनि छात्राहरूको पढाइ बिचमै छुट्छ । उनीहरूको समस्या सम्बोधन गर्न महिलामैत्री क्याम्पस बनाऊ लागिपर्छु,’अधिकारीले भनिन् ।

जनता क्याम्पसमा विद्यार्थी भर्नाका लागि घरघर प्रचार गर्दै जानुपर्ने अवस्था नभएको भन्दै कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु क्याम्पसको विशेषता रहेको उनको भनाई छ । उनले स्वतस्फुर्त कलेजमा विद्यार्थी आउने वातावरण बनाउन लागिपर्ने र सबैको रायअनुसार क्याम्पस चलाउने बताइन्।

२०४६ सालमा इटहरी क्षेत्रका बुद्दिजीविहरूले स्थापना गरेकाे क्याम्पसमा अाङ्गिक क्याम्पस भित्रै प्राध्यमपक हुँदाहुँदै पनि क्याम्पस बाहिरका व्यक्ति दधिराम अाचार्यलाइ क्याम्पस प्रमुख बनाइएकाे थियाे ।  उनी २०४७ सालसम्म मात्र क्याम्पस प्रमुख भएका थिए भने त्यसपछिका ५ वर्ष डाक्टर बद्री विशाल पोख्रेल क्याम्पस प्रमुख भएका थिए ।

पोख्रेलपछि २० वर्ष एकै जना व्यक्ति क्याम्पस प्रमुख रहे । उनी इटहरीका नारद उप्रेती हुन् । साेहि क्याम्पसमा अध्यापन गर्ने व्यक्ती नै पहिलाे क्याम्पस प्रमुख हुने उप्रेती हुन् । दुइ दशक प्रमुखकाे जिम्मेवारी सम्हालि २०६२ सालमा क्याम्पसबाट बिदा भएका उप्रेतीपछि निरकुमार राईले  २०७४ चैतसम्म क्याम्पस प्रमुखको जिम्मेवारी पाएका थिए । राईपछि भोजराज श्रेष्ठ क्याम्पसको प्रमुख भएका थिए । उनको गत वैशाख पदावधि सकिए पनि कोभिड १९ का कारण क्याम्पस सञ्चालन हुन पाएको थिएन । उनको कार्यकाल सकिएपछि गत साउन ९ गते देखि अधिकारी निमित्त क्याम्पस प्रमुखको जिम्मेवारीमा थिइन् ।

नवनियुक्त क्याम्पस प्रमुख डाक्टर अधिकारीले तीन ओटा विषयमा स्नातकोत्तर गरेकी छिन् । उनले विराटनगरको डिग्री क्याम्पसबाट राजनीति शास्त्र र समाजशास्त्रको अध्ययन सकेकी हुन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट एमएड गरेकी छिन् । त्यस्तै उनले भारतको मध्य प्रदेश स्थित स्वामी विवेकानन्द विश्वविद्यालयबाट शैक्षिक व्यवस्थापनमा प्र.अ.काे भुमिका विषयमा पिएचडी गरेकी छिन् ।