धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेकी एक महिलासहित आज साँझ ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, एक जना ३ दिन अघि मात्र भोजपुरबाट आएका व्यक्तिको पनि संक्रमण पुष्टि भएको छ । अरु ७ जना धरानका नै बासिन्दाहरु हुन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार प्रहरी हिरासतमा रहेकी धरान ११ की २८ बर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो । ती महिलाकी भाईको श्रीमति(बुहारी) ले झुण्डिएर आत्महत्या गरेपछि माइती पक्षले दिएको जाहेरीको आधारमा उनी पक्राउ परेकी थिइन् । रिपोर्ट पोजेटिभ आएपछि उनलाई वीपी प्रतिष्ठानको आइसोलेसनमा लगिएको पनि मेहताले बताए ।

यस्तै, धरान ८ मा डेरा गरि बस्ने ३७ बर्षीया महिलालाई पनि संक्रमण पुष्टि भएको छ । धनकुटा जानुपर्ने भए पछि उनले स्वाब जाँच गरेकी थिइन् । आज साँझ उनको पनि रिपोर्ट पोजेटिभ आएको हो । यस्तै, पानवारीस्थित आसारा सुधार केन्द्रमा १५ दिनदेखि बस्दै आएका धरान १०, रागा चोकका २२ बर्षीय पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ । उनलाई १४ दिन क्वारेन्टिनमा राखेर स्वाब जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

अर्का एक जना पोजेटिभ देखिएका पुरुष धरान १७ का ७३ बर्षीय रहेका छन् । यस्तै, ३ जना वीपी प्रतिष्ठानका हेल्परहरुको पनि रिपोर्ट पोजेटिभ आएको छ । मेहताका अनुसार प्रतिष्ठानको ५३ बर्षीय पुरुष, ४४ बर्षीय पुरुष र ३५ बर्षीया महिला हेल्परलाई संक्रमण पुष्टि भएको छ । यसैगरि, भोजपुरको पौवादुम्मा ६ बाट ३ दिन अघि धरान आएका ३४ बर्षीय पुरुषलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी धरान १५ मिलन चोक आएर आफन्तकोमा बसेका थिए । वीपीको हेल्प डेस्कमा जाँच गराउदा उनको आज साँझ रिपोर्ट पोजेटिभ आएको हो । उनलाई पनि आइसोलेसनमा पठाइएको मेहताले जानकारी दिए ।