इटहरीः होटल व्यवसायीहरुले सरकारले वास्ता नगरेको गुनासो गरेका छन् । आज इटहरीमा भएको सर्वपक्षीय छलफलमा व्यवसायीहरुले ६ महिनादेखि बन्द व्यवसायले होटल सँचालन खर्च मात्र होइन, बैँक ब्याजसँगै घरखर्च नै चलाउन गाह्रो भएको बताएका हुन् ।

इटहरी होटल व्यवसायी सँघका अध्यक्ष जीवन पराजुलीले निश्चित मापदण्ड तोकेर सबै व्यवसाय सँचालन गर्न सरकारले अनुमती दिएपनि होटल व्यवसायको हकमा नबोलेको भन्दै दुःख व्यक्त गरे । ‘सरकारका हरेक अभियानमा हामीले सहयोग नगरेका होइनौँ ।’ पराजुलीले भने ‘अहिले सरकारले हाम्रो समस्या पटक्कै सुनिदिएन । जसको कारण धेरै व्यवसायी डिपे्रशनको सिकार भएका छन् भने कतिपयले यो व्यवसायबाट हात नै धुनुपरेको छ ।’

होटल व्यवसायीका प्रदेश १ अध्यक्ष मणिन्द्र कटुवालले व्यवसाय सँचालन गरिरहेकालाई घरधनीले निकालिदिएको भन्दै धेरैले अब शुन्यबाट व्यवसाय थाल्नुपर्ने बाधात्मक अवस्थाको सृजना भएको बताए । उनले सरकारले केहि मापदण्ड तय गरेर होटल खुल्ने वातावरण बनाइ दिन आग्रह गरे । इटहरी नागरिक समाजका महासचिव राजु केसीले सबै व्यवसाय खुलिरहेको भन्दै यो सरकारको आव्हान नभइ नागरिक तहबाट भएको दबाब बुझिएको बताए । उनले समाजको आर्थिक गतिविधि शुन्य हुँदा त्यसले थुप्रै समस्या निम्तिने भन्दै अब दैनिकीलाई कसरी सहज बनाउनेतर्फ सोच्नुपर्ने धारणा राखे ।

इटहरी उद्योग वाणिज्य सँघका महासचिव दिवश पोख्रेलले शुरुका दिनमा प्रशासन र व्यवसायीबीच दुरी बढेको भन्दै अब प्रशासनले समस्या बुझिदिने विश्वास व्यक्त गरे । सँघका अध्यक्ष भीम बहादुर पौडेलले भने व्यवसायीलाई चौतर्फी समस्या रहेको भन्दै सरकारले बुझिदिएर समान्य अवस्थामा फर्काउने पहल लिनुपर्ने र त्यसका लागि सँघका पदाधिकारी सहयोग गर्त तत्पर रहेको धारण राखे ।

छलफल कार्यक्रममा भर्खरै आएका इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुुन केसीले कानूनको स्पष्ट परिभाषा नहुँदा भिडले परिभाषा गर्ने भन्दै कुुनैबेला सेवाग्राही र प्रशासनबीच दुरी बढ्नसक्ने सँकेत गरे । उनले प्रहरीले सरकारको निर्देशन पालना गर्ने हुँदा सोहि अनुसार व्यवहार गर्नुपर्ने अवस्था रहेको भन्दै बजारको शान्तिसुरक्षाका लागि सबैसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको प्रमुख अतिथिरहेका संविधान सभाका सदस्य रेवतीरमण भण्डारीले व्यक्तिगत सुरक्षाका विकल्प खोजेर व्यवसाय सँचालन गर्नुपर्ने धारणा राखे । उनले विश्व कोभिड १९ को सँक्रमणका कारण राज्य नै तहसनहस भएको बेला व्यवसायीको हालत पनि उस्तै रहेको भन्दै अब दैनिकी सहज बनाउनेतर्फ सबैको ध्यान गएको बताए । उनले सामाजिक दुरी कायम राखेर सँचालन गर्नसक्ने जति सम्पुर्ण व्यवसाय सँचालन गर्न सरकार सकारात्मक हुनुपर्ने बताए ।