धरान: भदौ ३० गते राती सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ की १८ बर्षीया एक किसोरीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । उक्त घटनाको अनुसन्धानको क्रममा बिहान करिब ९ बजे ती किसोरी सामुहिक बलात्कारको शिकार भएको खुलेको थियो ।

प्रहरीका अनुसार उक्त घटनाबारे दिउँसो २ बजे गाउँकै पञ्चहरु बसेर पीडितलाई प्रहरीमा उजुरी नगर्न दबाब दिएका थिए । सामुहिक बलात्कार जस्तो गम्भीर अपराधलाई दबाउन र अपराधीहरुलाई उन्मुक्ति दिन पञ्चहरुले तीब्र दबाब दिएपछि पीडितले सोही राती आत्महत्या गरेकी थिइन् । प्रहरीले उक्त घटनाका आरोपितहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार किसोरीलाई गाउँका १९ बर्षीय बब्लु भन्ने समुन मण्डल, १८ बर्षीय रंजित भन्ने सरोज कुमार मण्डल, २५ बर्षीय बिसु भन्ने विष्णु मण्डल र २७ बर्षीय धर्मदेव भण्डलले जर्बजस्ती करणी गरेका थिए । प्रहरीले ती मध्ये सुमन र सरोजलाई हिजो पक्राउ गरेको छ भने अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, गाउँमा छलफल गराउने पञ्चहरुमध्ये ६५ बर्षीय जयकान्त मण्डल, ६० बर्षीय बासुदेव मण्डल र ५० बर्षीय सत्यनारायण मण्डललाई पनि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुविरुद्ध जर्बजस्ती करणी तथा आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर म्याद थप गरि अनुसन्धान भइरहेको डिएसपी तिलक भारतीले जानकारी दिए ।