धरान: प्रदेश नं २ को जिल्ला सिरहाको सिमावर्ती गाउँमा एक महिलालाई मरणासन्न हुने गरि निर्घात कुटपिट भएको छ ।

सिरहाको कुर्सन्डी गाउँपालिका ५ नवराजपुरकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई कुटपिट भएको हो । एक साताअघिको यो घटनामा उनलाई बोक्सीको आरोपमा कुटपिट भएको पीडितको भनाई छ । कुटपिटसँगै उनलाई मलमुत्रसमेत खुवाएको पीडित महिलाले बताइन् । लहानको एक निजी स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनको अहिले वीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनको चिउँडो र गालाको हड्डी भाँचिएको चिकित्सकको भनाई छ । शरीरभरि कुटपिटको निलडाम छ । ‘मलाई कुटेर खेतमा फालिदियो,’रुदै उनले भनिन् ।

पीडितका अनुसार धर्मनाथ यादव, छोरा सन्तोष यादव, देवनाथ यादव र छोरा पशुपति यादव, महेश यादव र ब्रह्म यादव लगायतले कुटपिट गरेका हुन् । चट्यांङले एक जनाको मृत्यु भएको थियो । त्यसबेला पनि पीडित महिलालाई बोक्सी भन्दै आरोप लगाएका थिए भने एक बच्चा विरामी भएपछि उनलाई दोष देखाउदै कुटपिट गरेका थिए । सोही घटनामा छलफल भइरहदा गाउँकै अघि मरणासन्न हुने गरि कुटपिट गरेको उनले बताइन् ।

पीडित मूर्तिदेवीका छोरा गणेशका अनुसार पछि घटना पछि प्रहरीमा गए चोरीको आरोप फसाइदिने धम्की दिएको छ । ‘आमालाई कुटपिट हुदा कसैले पनि बचाएनन् । म छुटाउन जादा मलाई नै कुटे,’उनले भने । कुटपिट गर्नेहरु गाउँका पहुँचवाला भएकोले अहिले पनि पीडित परिवार त्रसित अवस्थामा छन् । प्रहरीले भने यो घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।