धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका छन् । दुवै जना महिला हुन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ बर्षीया वृद्धाको हिजो राती ९ बजेर २० मिनेटमा निधन भएको हो । उनलाई असोज ४ गते कोरोना संक्रमण पुष्टि भएको छ ।
श्वासप्रश्वासमा कठिन, छाती दुख्ने, न्युमोनियालगायत भएपछि उनलाई कन्काई अस्पताल झापाले वीपीमा रिफर गरेको थियो । उनी असोज ४ गते वीपीको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।

यस्तै, इनरुवा ४ सुनसरीकी ४९ बर्षीया महिलाको पनि निधन भएको छ । उनको आज बिहान २ बजे निधन भएको हो । उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या भएपछि मेडिसिन वार्डमा भर्ना भएकी उनलाई कोडिभ पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई असोज १ गते संक्रमण पुष्टि भएको थियो ।