धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब स्वाब परिक्षण गर्न न्युनतम २ हजार रुपैया शुल्क लाग्ने भएको छ ।

प्रदेश र संघीय सरकारले पिसिआर परिक्षण गर्न उपलब्ध गराउदै आएको किट, रिएजेन्टलगायत आवश्यक सामग्रीहरु हाल उपलब्ध हुन नसकेको भन्दै प्रतिष्ठानले निःशुल्करुपमा स्वाब परिक्षण गर्न नसकिने जनाएको छ । सरकारले निःशुल्क उपलब्ध गराउने किट नपाए पछि प्रतिष्ठान आफैले खरिद गरेर पिसिआर परिक्षणलाई निरन्तरता दिनुपर्ने भएकोले सरकारले तोकेको न्युनतम शुल्क तिर्नुपर्ने प्रतिष्ठानको भनाई छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले एक सुचना जारी गर्दै प्रतिष्ठानको कोभिड अस्पताल, आइसोलेसन र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई परिक्षण आवश्यक भएमा मात्र चिकित्सकको सिफारिशमा निःशुल्क पिसिआर टेष्ट गरिने जानकारी दिएका छन् । चिकित्सकले सिफारिश गरेका बाहेकका प्रतिष्ठानकै अन्य चिकित्सक र कर्मचारीहरुले तथा अन्य बाह्य व्यक्तिहरुले पनि पिसिआर टेष्ट गर्न चाहेमा सरकारले तोकेको न्युनतम शुल्क २ हजार भुक्तानी गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

संघीय तथा प्रदेश सरकारबाट निःशुल्करुपमा पिसिआर किट, रिएजेन्टलगायत सामग्रीहरु उपलब्ध नभएसम्म स्थानीय सरकार, संघसंस्थाबाट समुहगतरुपमा प्राप्त हुने स्वाबको पनि २ हजार रुपैया शुल्क लिएर मात्र परिक्षण गरिने प्रतिष्ठानले जनाएको छ । साथै, निःशुल्क र सशुल्क दुवै परिक्षण गर्दा प्रतिष्ठानको बिल काउन्टरबाट अनिवार्य बिलिङ गर्नुपर्ने पनि प्रतिष्ठानले जनाएको छ ।

pcr-tedt-no