धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार २५ हजार बढी संक्रमित भए अस्पतालको पुर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुनेछ । ‘२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ डा. गौतमले भने ।

बुधबार ११७२ जनामा संक्रमण पुष्टि भएको थियो भने सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ पुगेको छ । नेपालमा गत चैत ११ गतेदेखि लकडाउन भएको थियो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ । मापदण्ड पालना भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउन कोभिड(१९ संकट व्यवस्थापन सेन्टरलाई अनुरोध पनि गरेको छ ।

पछिल्लो समय विभिन्न जिल्ला, स्थानीय तहहरुले लकडाउन, निषेधाज्ञा जारी गरेको थियो । पछिल्लो समय बजार खुला भएको छ भने लामो दुरीको यातायात, आन्तरिक हवाई उडान, होटल रेस्टुरेन्ट सबै खुला भएको छ । तर, संक्रमण अझै नियन्त्रणमा आइसकेको छैन ।