धरान: सुकेको रुखको हाँगाले लागेर धरान १४ दुई धारेमा एकै परिवारका ३ जना घाइते भएका छन् ।

घाइते भएकामध्ये आमा २६ बर्षीया विष्णु राईको अवस्था सामान्य छ भने जेठी छोरी नेबिसा राई र ३ बर्षीया एबिसा राई गम्भीर घाइते छन् । घाइते दुवै बच्चालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकस्मिक कक्षमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकी कानछी छोरी एबिसालाई न्युरो हस्पिटल विराटनगर रिफर गरिएको छ । उनलाई भेन्टिलेटरसहित पिआइसियु आवश्यक पर्ने र प्रतिष्ठानमा खाली नभएपछि विराटनगर रिफर गरिएको हो ।

गम्भीर घाइते भएकी एबिसालाई टाउकोमा गहिरो चोट लागेको छ । जेठी छोरी नेबिसाको पनि खुट्टा र शरीरमा गम्भीर चोट लागेको छ । आमा विष्णुका अनुसार दन्तकालि मन्दिरतिरबाट घर फर्कदै गर्दा अनाचक २ धारेमा रुखको हाँगा खसेर लागेको थियो । उनी सिंहदेवी चोक केही मास्तिर २ धारे भन्ने ठाउँमा चिया पसल चलाएर गुजारा गर्छिन् ।

वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले २ धारेमा सुकेको रुखको हाँगा झर्ने सम्भावना अझै देखिएकोले तत्कालको लागि विजयपुर चोक-दुई धारे -सिंहदेवीको बाटो हिडडुलको लागि बन्द गरिएको बताए । ‘रुखको व्यवस्थापन नभएसम्मको लागि यो बाटोमा हिडडुल नगर्न सुचना नै राखेका छौं, अर्को पनि हाँगा झर्ने खतरा रहेछ,’उनले भने,‘वनसँग कुरा गरेर सुकेको रुख ढाल्न मान्छे पठायौं, तर पानी परिरहेकोले समस्या भयो ।’ वडा अध्यक्ष भट्टराईले घाइते परिवारलाई वडा कार्यालय र आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने बताए । साथै, उपमहानगरपालिकामा पनि सहयोगको लागि सिफारिश गर्न पत्राचार गरिने उनले बताए ।