उदयपुर: उदयपुर जिल्लामा आज एकै दिन लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जना श्रीमान् श्रीमति पनि रहेका छन् ।

आज बिहान साढे १० बजे त्रियुगा ६ लालपत्ताबाट लागुऔषधसहित थप दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३१ बर्षीय प्रबेश मिया र २६ बर्षीया हजारुम खातुन रहेका छन् । उनीहरु श्रीमान् श्रीमति रहेको खुलेको छ । प्रहरीले उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १८० एम्पुल लागुऔषध बरामद गरेको छ ।

यसैगरि, आजै बिहान त्रियुगा नगरपालिका २ स्थित फत्तेपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेको एसपी भिमबहादुर दाहालले बताए। पक्राउ पर्नेमा त्रियुगा १२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, बर्ष २० कै सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बर्ष २२ कै बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे रहेका छन् ।

बिशेष सुराकीको आधारमा बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई फत्तेपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १०५ एम्पुल लागुऔष वरामद भएको छ । यसैगरी उनीहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ । लागुऔषधसहित पक्राउ परेका ८ जनामाथि थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।