इटहरीः स्थानीय पालिका र जिल्ला प्रशासनले कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउन र निषेधाज्ञा खुल्ला गरेसँगै बजार पसल खुलेका छन् भने दैनिकी सामान्य बन्दै गएको छ । तर, कोरोना नियन्त्रणका लागि खटिरहका स्वास्थ्यकर्मी भने जोखिम घटेको नभइ बढिरहेको बताएका छन् ।

इटहरी उपमहानगरले सँचालन गरेको इटहरी अस्पतालका इमेरजेन्सी प्रमुख रामकुमार धमलाका अनुसार बजारमा मानिसको चाप ह्वात्तै बढेसँगै कोरोना फैलिने जोखिम पनि उसैगरि बढेको छ । बजार खुल्लाभएसँगै कोरोना छैनन भन्ने आम मानिसको मनोविज्ञानका कारण झन्झन् जोखिम बढिरहेको धमलाको बुुझाई छ। ‘धेरैलाई कोरोना नियन्त्रण भइसक्यो भन्ने भ्रम छ,’उनले भने, ‘जटिल प्रकृतीका केशहरु आइरहेका छन् । हामीले जति स्वास्थ्य सजकता अपनायौँ, त्यति नै सहजता हुँदै जान्छ । नत्र, कोभिड केशहरु बढिरहन्छन् ।’

उनले आर्थिक समाजिक जीवन सामान्य बनाउने सरकारको प्रयास गरिरहे पनि  यसलाइ जनताले असावधानी अपनाउन नहुने तर्क गरे । धमलाले भोलीका दिनमा जति केश बढ्दे गए त्यति नै सरकारको जवाफदेहिता नरहनसक्ने बताए । उनका अनुसार सरकार पुनः कडा लकडाउनमा जान पनि सक्छ । त्यसका लागि हामी आँफैले सतर्कता अपनाउनुपर्छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले अब आर्थिक जनजीवन प्रभावित हुने अवस्था आएपछि कोभिडसँग जुध्ने नयाँ रणनीति अपनाइएको बताए । झण्डै एक महिना प्रशासनले निषेधित क्षेत्र जारी गरेपछि जनताको अवस्थालाई मध्यनगर गरेर कोभिड संक्रमित ठाउँ मात्रै लक्षित गरेर विशेष नियम लागू गरिने जानकारी दिए । ‘हामी पहिलेजस्तो लकडाउन गर्ने सोचमा छैनौँ,’उनले भने, ‘कोभिडलाई कसरी परास्त गर्ने भन्ने बारे सरकारले लागुु गरेको हेल्थ प्रोटोकल अपनाउँदै स्थिति कसरी सामान्य बनाउने भन्ने सोचिरहेका छौं ।’