धरान: आज शुक्रवार पनि धरानलगायत देशको विभिन्न स्थानमा बर्षा भइरहेको छ ।

धरानमा रातीदेखि नै बर्षा भइरहेको हो । आज देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकोले नेपालमा पनि वर्षाको सम्भावना रहेको हो ।

महाशाखाले एक बुलेटिन जारी गर्दै दिउँसो देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै शुक्रवार राती पनि देशभर सामान्यदेखि अधिकांश बदली रहने र केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

budha-chowk 1

त्यसैगरी प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै आगामी २४ घण्टामा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।