धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सुचना जारी नभएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्न स्थानीय तहहरुलाई सुचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरुलाई सरकारको निर्णय पठाउदै अर्को सुचनाबाट तोकिएको मितिदेखि सञ्चालन गर्ने गरि विभिन्न सेवा र कार्यहरुको सुची पठाएको हो । मन्त्रीपरिषदको निर्णय अनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु तत्काल सञ्चालन गर्न पाइनेछैन । यस्तै, शैक्षिक र अन्य परीक्षा सञ्चालनमा पनि रोक लगाइएको छ ।

यो निर्णयसँगै धरानमा कक्षा ८, ९ र १० को प्रत्यक्ष पठनपाठन सञ्चालन गर्ने तयारी पनि प्रभावित हुने भएको छ । उपमहानगरपालिकाले गठन गरेको कार्यदलले कक्षा ८, ९ र १० कोे कक्षा स्कुलमा नै सञ्चालन गर्न सुझाव दिएको थियो । ‘विद्यालयको पठनपाठनबारे शिक्षा मन्त्रालयको मार्गदर्शन छ, त्यसविपरीत कतिपय विद्यालयले पठनपाठन गरेकोले यो सुचना जारी गर्नुपरेको हो,’सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले भने ।

सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनारमा पनि रोक लगाएको छ भने सबै प्रकारका प्रदर्शन, भेला र सम्मेलन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायत मनोरञ्जन स्थलहरुमा पनि रोक लगाएको छ । सैलुन, ब्युटीपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखाना तथा हेल्थ क्लबलगायतमा पनि सरकारले रोक लगाएकोछ ।
cdo