धरान: इटहरी उपमहानगरले इटहरीमा रहेका सडक बालबालिकाको पिसिआर परीक्षण गर्ने भएको छ ।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा सडक बालबालिकाको दीगो ब्यबस्थापनका बारेमा भएको छलफलमा यस्तो निर्णय गरिएको हो । उपमहानगर, इलाका प्रहरी कार्यलय, भ्वाइसफ चिल्ड्रेन, उद्योग बाणिज्य संघ, नागरिक समाज, मायाघर नेपाल, श्रमिक महिला साझा मञ्चलगायत सरोकारवाला संघसस्थाहरुका प्रतिनिधिहरुको सहभागितामा छलफल भएको हो ।

इटहरीका सडकमा सडक वालवालिका देखिए उपमहानगर र इलाका प्रहरीमा खवर गरेर भ्वाइस अफ चिल्ड्रेनमा राख्ने निर्णय गरिएको छ । बिगत २ बर्ष देखि इटहरी उपमहानगरपालिका र भ्वाइसफ चिल्ड्रेनको सहकार्यमा सडक बालबालिकाको संरक्षण र ब्यबस्थापन गर्ने कार्य भइरहेको छ । बालबालिकाको खानपिनको खर्चको ब्यबस्थापन नगरपालिकाले गर्दै आएको छ । भ्वाइस अफ चिल्ड्रेनमा हाल ३० जना सडक वालवालिकाले संरक्षण पाएका छन् । उपप्रमुख गौतमका अनुसार इटहरीमा ९० प्रतिशत सडक वालवालिका इटहरी वाहिरबाट आउने गरेका छन् ।