धरान: आज (आइतबार) सेप्टेम्बर २७ अर्थात ‘विश्व पर्यटन दिवश’ आइतबार धरानमा पनि मनाइएको छ ।

सेछ ट्राभलिङ धरानको आयोजनामा धरान उपमहानगरपालिका परिसरमा विश्व पर्यटन दिवस मनाइएको हो । संक्षिप्त रुपमा आयोजना गरिएको कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुबेदीले संयुक्त रुपमा विश्व पर्यटन दिवसको लोगोसहितको बेलुन उडाएका थिए । कार्यक्रममा बोल्दै मेयर तिलक राईले कोभिडका कारणले पर्यटन क्षेत्रमा ठुलो असर पुगेको बताए । उनले धरानमा पर्यटन प्रबद्र्धनको क्षेत्रमा थुप्रै कामहरु भइरहेको समेत बताए ।

‘धरानको पर्यटन प्रबद्र्धनको लागि पर्यटन समितिले धेरै काम गरेको छ । निजी कम्पनीले पनि आफ्नो क्षेत्रमा थुप्रै कामहरु गरेको छ’ मेयर राईले भने ‘तर, अहिले कोभिडको कारणले पर्यटन क्षेत्र तहसनहस बनिरहेको अवस्था छ ।’ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सरकारले पर्यटन क्षेत्रमा थुप्रै लगानी गरेपनि कोभिडले ठुलो असर गरेको बताए ।

सेछ ट्राभलिङकी प्रोपाइटर एलिना मगरले पर्यटनकर्मीहरुको लागि आजको दिन महत्वपूर्ण रहेको बताइन् । कोभिडका कारणले विगतका वर्षहरुमा जस्तो कार्यक्रम आयोजना गर्न नसकिएको बताउदै उनले विश्व पर्यटन दिवशको लोगोसहितको बेलुन उडाएर यो दिवश मनाइएको बताइन् । ‘२७ सेप्टेम्बरलाई पर्यटनकर्मीहरुले महत्वपूर्ण दिनको रुपमा लिने गरेका छौं । ४१ औं विश्व पर्यटन दिवशलाई यसपटक काभिडका कारणले हर्षाेउल्लासका साथ मनाउन सकेनौं,’उनले भनिन्,‘बेलुनमा विश्व पर्यटन दिवशको लोगोसहितको झण्डा राखेर उडाएर यस पटकको विश्व पर्यटन दिवश मनायौं ।’ उनले बेलुन उडे जसरी पर्यटनकर्मीहरुले आफ्नो उचाइ लिन चाहेको सन्देश बेलुन उडाएर दिन खोजिएको बताइन् । ‘आज बेलुन उडाउनुको मुख्य कारण भनेको हामी पर्यटनकर्मी बेलुन जसरी उडेर उचाइ लिन चाहान्छौं भन्ने सन्देश दिन खोजिएको हो ।’