धरान: पैसा दिने प्रलोभनमा पूजाको लागि भन्दै भारत लैजादै गरेका दुई युवतीलाई नेपाल भारत सीमा क्षेत्रबाट उद्दार गरिएको छ ।

भारतको एसएसबीसमेतको सहयोगमा सशस्त्र प्रहरीको टोलीले २ जना युवतीलाई उद्दार गरेको हो भने उनीहरुलाई भारततफै लैजाने २ व्यक्ति पनि पक्राउ परेका छन् । दुवै युवती सप्तरी जिल्लाको भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतमा वलि दिनको लागि लगिएको आशंका गरिएको छ । भारतका विभिन्न मन्दिरहरुमा वलि दिएमा मनोकांक्षा पुरा हुने अन्धविश्वास व्यप्त छ । त्यसैको लागि नेपाली युवतीहरुलाई प्रलोभलनमा पारेर लैजाने गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार आज बिहान करिब साढे १० बजे कोशी गाउँपालिका ८ पुर्वी टोल नाका र भारतको सुपोल जिल्ला भिमनगर १२ बोर्डर इलाकाबाट २ युवतीलाई भारत लैजादै गर्दा नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सप्तरीको कृष्ण सवरन गाउँपालिका ४ बनौलीका २९ बर्षीय महम्मद साहिल मन्सुरी र सिराहको लाहन नगरपालिका १९, कटाहका २९ बर्षीय जिवछकुमार साह रहेका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछको क्रममा बिहारको सुपौला जिल्लाको भिमनगरमा बाबाको मन्दिरमा पुजाको लागि भनेर ती युवतीहरुलाई लैजादै गरेको खुलेको छ । बाबाको मन्दिरमा पुजामा बस्नुपर्ने, पुजामा बसेबापत पारिश्रमिक पाउने, कुनै दुःख विमार भएमा सञ्चो हुने भनेर उनीहरुलाई भारतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीले पुजाको लागि भनेर लगेको प्रारम्भिक वयानबाट खुलेको बताए । उनले भने,‘पूजामा बस्नुपर्छ । एक दुई घण्टामा फर्किहाल्ने हो, पैसा पनि पाउछ भनेर लगेको भन्ने खुलेको छ । वलिको लागि भनेर खुलिसकेको छैन ।’ यद्यपी, लफाईफकाई प्रलोभनमा पारेर लगेको प्रहरीले जनाएको छ ।