मोरङ: विराटनगरबाट ठुलो रकमको बाजी राखेर जुवा (सट्टेबाजी) खेल खेलाउने ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर १५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर १७ का ४२ बर्षीय जगदिश साह रहेका छन् । पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको पाएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुबारे विशेष सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो राती पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुले online बाट कुन टिमको हारजित हुन्छ भनेर बाजी मार्नका लागी रकम कबोल गराउने र सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । पक्राउ परेका तिनै जनालाई कानुनी कारबाही अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।