धरान: धरान ११ की सुनिहाङ्मा लिम्बुको माइती पक्षले आज(सोमबार) जिल्ला अदालत सुनसरी बाहिर प्ले कार्डसहित शान्तिपुर्ण प्रर्दशन गरेको छ ।

सुनिहाङ्मालाई न्याय दिइनुपर्ने माग गर्दै अदालत बाहिर प्रर्दशन भएको हो । माइती पक्षले हत्याको दाबी गर्दै आएपछि पोष्टमार्टम रिपोर्टसहित प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले आत्हत्या दुरुत्साहन मुद्दामा हिजो आइतबार अभियोग दर्ता गरेको थियो । यो घटनामा मृतकका ससुरा, देवर र २ आमाजुसहित ४ जना पक्राउ परेका छन् । मृतकका श्रीमान् आइत माबोविरुद्ध पनि उजुरी छ । उनी सिंगापुरे लाहुरे भएकोले उतै छन् ।

मृतकका काकासमेत रहेका न्यायको लागि अभियान समितिका सहसंयोजक अरुण तिगेलाले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै अदालतबाहिर प्ले कार्डसहित शान्तिपुर्ण प्रर्दशन गरिएको बताए । ‘अदालतको पनि मर्यादालाई ख्याल गर्दै शान्तिपुर्णरुपमा प्लेकार्डसहित गएका हौं,’उनले भने,‘हाम्रो छोरीले न्याय पाउनुपर्छ भन्ने मात्र हाम्रो उद्देश्य हो ।’ 

अदालत बाहिर बिहान ११ बजेदेखि २ बजेसम्म शान्तिपुर्णरुपमा प्लेकार्ड प्रर्दशन गरिएको थियो । मंगलबार पनि प्रर्दशन गरिने सहसंयोजक तिगेलाले बताए । उनले आफुहरु विज्ञ नभएकोले विज्ञहरुले दिएको राय, सुझाव मान्ने बताए । तर, आफुहरुले न्याय पाएको आभाष हुनुपर्ने उनको भनाई छ । 'हामीले न्याय पाएको आभास भएन भने कडा संघर्ष हुन्छ, र सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराउन चाहन्छु,'उनले भने ।

गत भदौ २२ गते बिहान सुनिहाङ्माले आफ्नै कोठाको पंखामा सलले पाशो लगाएर आत्महत्या गरेकी थिइन् । प्रहरी र जनप्रतिनिधि घरमा पुग्दा सुनिहाङ्माको शव खाटमा राखिएको अवस्थामा भेटिएको थियो । परिवारका अनुसार उनको देवर र छिमेकी एक युवतीले ज्यान बचाउने उद्देश्यले पाशोबाट झिके पनि मृत्यु भइसकेकोले अस्पताल नलगी खाटमा राखिएको थियो । तर, माइती पक्षले भने हत्या आशंका भन्दै प्रहरीमा जाहेरी दिएपछि ससुरासहित ४ जना पक्राउ परेका थिए ।