धरान: कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गइरहे पनि सुनसरीको डिसिसिएमसि बैठक बसेर थप महत्वपुर्ण निर्णयहरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार असोज २५ गतेदेखि साँझ ८ बजेपछि सम्पुर्ण बजार, पसल तथा व्यवसाय पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । साथै, खुला स्थानमा सञ्चालन हुने साप्ताहिक, दैनिक हाटबजार अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बजार तथा पसलहरुमा न्युनतम २ मिटर दुरी रहने गरि मात्र ग्राहकलाई भित्र प्रवेश गर्न दिने, पसल बाहिर सेनिटाइजर वा हात धुने व्यवस्था गर्ने र त्यसो नगरे कानुन वमोजिम कारबाही गर्ने पनि निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए । उनका अनुसार लामो र छोटो दुरीका तथा स्थानीयस्तरमा सञ्चालन हुने यातायातका साधनले पनि अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरिएको छ ।
समुह बनाएर कक्षा सञ्चालन गर्न दिइने
डिसिसिएमसि बैठकले शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाको परिधिभित्र रहेर स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गरि डिस्टेन्स लर्निङ जस्ता कक्षा सञ्चालन गर्न दिने पनि निर्णय गरेको छ । यो निर्णय अनुसार निजी तथा संस्थागत विद्यालयहरुले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई बढीमा १५ जना सम्मको समुह बनाएर सिफ्ट मिलाएर पढाउन सक्छन् । ‘निर्देशिकामा नै उल्लेख छ, तर गु्रप गु्रप बनाएर १०, १५ जनालाई मात्र कक्षा शुरु गर्न दिने भन्ने हो,’सहायक प्रजिअ पोख्रेलले भने,‘यसमा पालिकाहरुले प्रत्यक्ष निगरानी गर्नुपर्छ भन्ने निर्णय छ ।’
सहायक प्रजिअ पोख्रेलका अनुसार यो निर्णय ठुला कक्षाको लागि मात्र हो । ती कक्षाहरु आजभोलीदेखि नै स्कुलहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शुरु गर्न सक्छन् । तर साना कक्षाहरु भने त्यसरी सञ्चालन गर्न पाइदैन । ‘पहिला ठुला कक्षा मात्र सञ्चालन गर्ने भन्ने हो, सानो कक्षा पाइदैन,’उनले भने ।
दशैं तिहार घरभित्रै परिवारसँग मात्र मनाउनु
डिसिसिएमसि बैठकले नजिकिदै गरेको दशैं, तिहार, छठलगायत चाडपर्व आआफ्नो घरभित्र परिवारसँग मात्र मनाउन आग्रह गरेको छ । मेला, जात्रा, भजन, किर्तन नगर्न तथा बिना काम घरबाट बाहिर ननिस्कन र समुहमा हिड्दा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेको छ ।
यसैगरि, मन्दिर, मञ्जिद तथा गुम्बाहरुमा नित्य पुजाआजा भिडभाड नहुने गरि एक जनाले मात्र गर्ने पनि निर्णय गरेको छ। त्यसबाहेक सर्वसाधारणका लागि पुजा, प्रर्थना, नमाज, ध्यान गर्न निषेष गर्ने पनि निर्णय गरिएको छ ।