धरान: कोरोना संक्रमण दिनहुँ वृद्धि भइरहेको धरानमा भोली मंगलबारदेखि स्वास्थ्य प्रोटोकल पालना भए नभएकोबारे अनुगमन गरिने भएको छ ।

मेयर तिलक राईको अध्यक्षतामा सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलसमेतको उपस्थितिमा धरानमा आज भएको बैठकले यस्तो निर्णय भएको हो । मेयर राईका अनुसार कोरोना संक्रमणको जोखिम बढ्नुमा व्यक्तिहरु स्वयम सचेत नभएकोले भोलीदेखि प्रोटोकल पालनाको बिषयमा अनुगमन गर्ने निर्णय भएको छ । ‘स्वास्थ्य प्रोटोकल पालना गर्यौं भने जोखिम कम हुन्छ, त्यसैले सचेत गराउदै भोलीदेखि सबै क्षेत्रमा अनुगमन गर्ने निर्णय भएको छ,’मेयर राईले भने ।

मेयर राइका अनुसार उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा अनुगमन गरिनेछ । शुरुमा एउटा टोलीले अनुगमन शुरुवात गर्नेछ भने आवश्यकता अनुसार टोली बनाएर अनुगमनलाई तीब्रता दिइनेछ । ‘माक्स नलगाएको, दुरी कायम नगरेको, सेनिटाइज वा हात धुने व्यवस्था नभएकोबारे अनुगमन हुन्छ । पैदल यात्री, सवारी साधन, सब्जी, पसल सबैतिर हुन्छ,’मेयर राईले भने,‘प्रोटोकल पालना नगरेको, उल्लंघन गरिएको पाइए सय रुपैया जरिवाना गर्ने पनि निर्णय भएको छ ।’ अनुगमन टोलीमा इलाका प्रशासन, इलाका प्रहरी, सशस्त्र, उद्योग वाणिज्य संघसहित रहनेछ ।

बैठकमा होम आइसोलेसनमा भएकाहरुको अवस्थाबारेमा पनि अनुगमन गर्नेबारे छलफल भएको थियो । तर, यसबारेमा निर्णय भने नभएको मेयर राईले बताए । उनका अनुसार होम आइसोलेसनमा भएकाहरुलाई सम्पर्क गर्ने, घरमा बस्दा प्रोटोकल अपनाएको छ छैन, अवस्था के छ भनेर बुझ्नेबारे छलफल भएको छ । ‘आइसालेसनमा बस्ने खालको पुर्वाधार छैन भने नगरपालिकाले व्यवस्था गरेको आइसेलेसनमा लैजाने पनि छलफल भएको छ । त्यसको लागि पहिचान गरेर व्यस्थापन गर्ने भन्ने छलफल भएको हो, निर्णय हुन बाँकी छ,’मेयर राईले भने ।