बिराटनगर: एक लाख धनराशीको सातौ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ।

प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरीकोरुपमा खत्रीलाई आज शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । उनी प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत छिन् । २०७६ सालमा तत्कालिन इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत रहदा उनले जवरजस्ती करणी जस्तो जघन्य अपराधको घटनाका अभियुक्तलाई कानूनी दायरामा ल्याउन सफल भएकी थिइन् । सोही कार्यको उच्च मुल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयले १ लाख धनरासीको साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार प्रहरी जवान खत्री दिएको हो ।

बर्ष भरिमा उत्कृष्ट ठहरिएका प्रहरी कर्मचारीहरु मध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरीलाई प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा यो पुरस्कार प्रदान गरिदै आएको छ । उनलाई साधनादेवी उत्कृष्ट प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले १ लाखको चेक तथा प्रशंसापत्र समेत प्रदान गरेका थिए । प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने उद्देश्यले आफ्नी स्वर्गिय आमा साधना देबी श्रेष्ठको नाममा यो पुरस्कार स्थापना गरेको कोषका संस्थापक डा.श्रेष्ठले बताए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले डा.श्रेष्ठलाई धन्यबाद पनि दिए । पुरस्कृत प्रहरी जवान खत्रीले संगठनले आफूलाई ठुलो सम्मान गरेको र अझ बढी जिम्मेवार भएर दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताइन् । कार्यक्रममा पुरस्कारका संस्थापक प्रा.डा.श्रेष्ठलाई प्रमुख अतिथी एवं मुख्यमन्त्री शेरधन राईले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।