धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान १५ र झापाको शिवगडी ११ का संक्रमित छन् । दुवै जना पुरुष हुन् । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १५ का ६५ बर्षीय वृद्धको हिजो राती सवा ७ बजे मृत्यु भएको हो । उनलाई असोज २८ गते संक्रमण पुष्टि भएको थियो भने २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरि, झापाको ५६ बर्षीय व्यक्तिको पनि हिजो राती ७ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असोज २९ गते संक्रमण पुष्टि भएको थियो भने हिजो असोज ३० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दुवैलाई दीर्घ रोग पनि भएको प्रतिष्ठानले जनाएको छ ।