विराटनगर : संक्रमितहरु आईसियू र भेन्टिलेटरसम्म पुग्न नपरोस भन्ने उद्देश्यसाथ विराटनगरमा एक सय बेड क्षमताको प्रिकोभिड १९ अस्पताल संचालन गर्ने विषयमा निजीस्तरमा छलफल शुरु भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइारलाको पहलमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवालासंग छलफल शुरु भएको हो । यस विषयमा शनिबार आयोजित भर्चुअल छलफलमा सहभागी चिकित्सक, राजनीतिकर्मी तथा व्यवसायीले अस्पताल संचालन गर्ने विषयमा आफूहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । कांग्रेस नेता डा. कोइरालाका अनुसार आईसियू र भेन्टिलेटरमा बढ्दै गएको चाप अस्पतालहरुले थेग्नै नसक्ने अवस्थामा पुगेकोले विराटनगरमा अक्सिजन चाहिने बिरामीलाई सेवा दिने गरी छलफल शुरु गरिएको बताए । उनले अस्पतालमा गम्भीर स्वास्थ्य अवस्थामा जानुभन्दा पहिल्यै पाउनु पर्ने न्यूनतम सुविधाले ज्यान बचाउनको सक्ने भएकोले यस्तो प्रि हस्पिटलबारे छलफल चलाइएको बताए ।

सहभागीले अहिले विराटनगरमा हरेक दिन अस्पतालमा आईसियूमा बेडको माग हन थालेको तर बिरामीले अस्पतालको गेटबाटै फर्कनु पर्ने अवस्था आएको सहभागीको भनाइ थियो । काठमाडौमा समेत अस्पतालमा बेड आउन निक्कै कठिनाइ हुने गरेको भन्दै चिकित्सा विज्ञान प्रतिष्ठानका पूर्व डिन डा. जगदीश अग्रवालले आईसियू र भेन्टिलेटरसम्म पुग्न नदिन प्रीहस्पिटलको कन्सेप्ट उचित हुने बताए । उनले एक्स रे गराएर स्वास्थ्य अवस्था हेरेर अक्सिजनको व्यवस्था गर्न सकेपनि बिरामीलाई बचाउन सकिने भन्दै उनले अस्पताल व्यवस्थापनको लागि सरकारसंग समेत सहयोग लिनुपर्ने सुझाव दिए ।

चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.लोचन कार्कीले भएकै पूर्वाधारलाई प्रयोग गरेर अस्पताल संचालन गर्न सकिने र भएकै संरचनालाई अस्पतालमा परिणत गर्दा खर्च बचाउन सकिने बताए । कार्कीले प्रि हस्पिटलको अवधारणाले अस्पतालको सुविधा नचाँहिने संक्रमितलाई केही इन्भेस्टीगेट गर्ने र अक्सिजन दिने खालका चिकित्सकको निगरानीमा राख्न सके पनि अस्पतालमा चाप कर्म गर्न सकिने बताए ।

उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य महेश जाजूले विराटनगरमा प्रिअस्पताल संचालन गर्न निजी क्षेत्रको सहयोग संधै रहने बताए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारको कमजोरीका कारण धेरै मानिसले उपचार प्राप्त गर्न नसकेको जस्तो देखिएको बताउदै जनतालाई सरकारले सेवा दिन कमजोरी गर्न नहुने सुझाव दिए । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने ठूलो चुनौती रहेको भन्दै अब प्रिकोभिड अस्पताल जरुरी भएको बताए । मेयर पराजुलीले यो कार्यमा विराटनगर महानगरले पहलकदमी र नेतृत्व लिन सक्ने बताए ।