धरान: हिजो साँझ एकाएक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा आइतबारदेखि बन्द हुने खबर फैलियो । केही अनलाइनले खबर प्रकाशन पनि गरे, सामाजिक सञ्जालमा पोष्टहरु हुन थाले ।

प्रतिष्ठानले भने ओपिडी सेवा आज पनि निरन्तर जारी रहेको प्रष्ट पारेको छ । साथै, तत्काल सेवा बन्द गर्ने कुनै आधिकारिक निर्णय नभएको प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार ओपिडी सेवा के गर्ने भनेर छलफलसम्म भएको थियो । तर, ओपिडी सेवा बन्द गर्ने कुनै निर्णय नभएको उनले बताए । ‘हामीले छलफल गरेका थियौं, तर ओपिडी सेवा बन्द गर्ने निर्णय भएको छैन,’उनले भने ।

रजिष्ट्रार रेग्मीका अनुसार प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु धेरैमा कोरोना संक्रमण देखिएको र जोखिम पनि धेरै भएकोले ओपिडी सेवाबारे छलफल भएको हो । अस्पतालमा विरामी, विरामीको साथमा आउने आफन्तको कारण धेरै भिडभाड हुने र संक्रमणको जोखिम बढी छ । ‘धेरै भिडभाड र मानिसहरुको आवतजावत धेरे भएर संक्रमण फैलिने जोखिम हुन्छ । हाम्रो स्वास्थ्यकर्मी, कर्मचारीहरुमा पनि संक्रमण छ,’रजिष्ट्रार रेग्मीले भने,‘तर पनि तत्काल ओपिडी बन्द गरेर समस्या समाधान हुने देखिएन । चाडवाड आइहाल्यो । त्यसैले ओपिडी बन्दको निर्णय भएको छैन ।’

यद्यपी, सरकारले जरुरी बाहेक अन्य अप्रेशन नगर्नु भन्ने निर्देशन गरेको कारण त्यसबिषयमा छलफल भइरहेको रजिष्ट्रार रेग्मीले जानकरी दिए । प्रतिष्ठानका इन्र्टन, जुनियर रेसिडेन्ट, स्टाफ नर्सलगायत धेरैलाई संक्रमण भएको छ । त्यसमध्ये १० जना स्वास्थ्यकर्मी लक्षण देखिएर कोभिड अस्पतालमा नै छन् भने आइसोलेसनमा रहनेको संख्या पनि धेरै छन् ।