धरान: सास फेर्न गाह्रो भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सी लगिए पनि बेड छैन भनेर घर फकाईदिएकी धरानकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

धरान १५ की ७३ बर्षीया वृद्धाको हिजो साँझ करिब ५ बजेतिर मृत्यु भएको वडा अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार मृतक छोरीको घरमा बस्दै आएकी थिइन् । उनलाई संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिए पनि हिजो सास फेर्न गाह्रो भएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । ‘इर्मजेन्सीमा लगेका रहेछन् । बेड खाली छैन भनेपछि अक्सिजन सिलिण्डर खोजेर घरमा नै ल्याएको रहेछ,’वडाअध्यक्ष इवारमले भने,‘उहाँको घरमा नै मृत्यु भयो भनेर जानकारी पाएँ ।’

अध्यक्ष इवारमका अनुसार मृतकका छोराहरु धरान ८ मा बस्छन् । तर, वृद्धा भने धरान १५ मा छोरीसँगै बस्दै आएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेसनमा थिइन् । मृतकको शवलाई नेपाली सेनाको टोलीले प्रोटोकल अनुसार व्यवस्थापन गर्ने तयारी गरेको छ ।