धरान: आज बिहानै धरानमा थप २ जना कोरोना संक्रमितको घरमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान ८ का एक जना छन् भने अर्का धरान १५ का संक्रमित छन् । दुवै जना पुरुष हुन् भने दुवैमा विभिन्न दीर्घ रोगहरु पनि थियो । आज बिहानै करिब २ बजेतिर धरान ८ एघार घरे भन्ने ठाउँमा ७० बर्षीय वृद्धको निधन भएको हो । उनी मृगौलाका विरामी थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस गराइरहेका उनलाई हिजो परिवारले घर ल्याएको थियो । उनको आज बिहानै २ बजे मृत्यु भएको वडा नं ८ की सदस्य तथा न्यायिक समिति सदस्य सावित्री परियारले जानकारी दिइन् । ‘उहाँलाई डाइलाइसिस गरिरहेको थियो । परिवारले हिजो बेलुका घर ल्याएका रहेछन्, आज बिहानै २ बजेतिर बित्नु भएछ,’उनले भनिन् ।

यसैगरि, धरान १५, बुढासुब्बा चोक नजिकै पनि आज बिहान अर्का संक्रमित व्यक्तिको निधन भएको छ । करिब ७४ बर्षका वृद्धको बिहान ६ बजेतिर निधन भएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार शनिबार पिसिआर परिक्षण भएको थियो । उनी होम आइसोलेसनमा नै रहेको र आज बिहान मृत्यु भएको खबर आफुले पाएको अध्यक्ष इवारमले जानकारी दिए । ‘उहाँको मुटुको वाइपास सर्जरी गरेको थियो, आज बिहान मृत्यु भएको दुःखद खबर आयो,’अध्यक्ष इवारमले भने ।