विराटनगरः विराटनगर स्थित रानी नाकाबाट नेपाल भित्रिने नागरिकको सँख्या अत्यन्त न्यून रहेको छ । भारतका प्रमुख शहरबाट सीमावर्तीबजार जोगवनी सम्म आउने लामो दुरीका रेल अझै सँचालनमा नआउँदा रानी नाका हुँदै नेपाल भित्रिने नेपालीको सँख्या न्युन भएको हो ।

नेपालीका प्रमुख चाड दशैँ तिहार, छठ लगाएतका महत्वपुुर्ण पर्व मनाउन भारतमा रहेका नेपालीहरु आउने क्रम असाध्य न्यून रहेको छ । सामान्य अवस्था हुँदो हो त यति बेला रानी नाकाको दृष्य निकै फरक देखिन्थ्यो । तर, कोरोना सँक्रमणको जोखिमले कति लकडाउन अवधिमै स्वदेश फर्किसके भने कति यातायातको समस्याका कारण भारत तिरै रोकिएका इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक दीपक थापाले जानकारी दिए । ‘अघिल्ला साल सीमावर्ती बजार जोगवनीमा दशैँ तिहारका लागि किनमेलमा जाने नेपालीका सँख्या अत्याधिक हुने हुँदा रानी नाकामा भिडभाड हुने गथ्र्यो,’ उनले भने ‘यो पटक नेपालबाट लुकिछिपि भारत पुगि फर्किनेलाई प्रहरीले १४ दिन क्वारेन्टाइनमा पठाउने गरेको छ । त्यसले गर्दा पनि नाकामा भिड कम छ ।’

मोरङ प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले यसरी लुकिछिपी भारत गइ फर्किने ८५ नागरिकलाई कारवाही गरिसकिएको जानकारी दिए । उनले आफ्नो देश फर्किने भारतीयलाई अनुमती दिइएको र भारतबाट नेपाल आउनेलाई सहज वातावरण बनाइएको बताए । भारतबाटे नेपाल आउनेलाई स्वास्थ्य परिक्षण गरेर डिएभि बोर्डिङ स्कुलको होल्डिङ सेन्टरमा लगेर राखिन्छ र आ आफ्नो घर पठाइन्छ । भारतले केहिदिनभित्रै भारतको दिल्लि र कलकत्ताबाट नियमित रेल सेवा सँचालन गर्ने तयारी गरेको छ । हाल न्युन सँख्यामा नागरिक फर्किए पनि दुइ दिन पछि हुनसक्ने भिडको उच्च जोखिमलाई मध्यनगर गरेर प्रशासनले उचित तयारी गरेको प्रजिअ निरौलाले बताए । असोजमा मात्र भारतबाट नेपाल फर्किनेको सँख्या ८ सय ३६ रहेको छ । गत चैत देखि शुरु भएको लकडाउनको अवधिदेखि हालसम्म रानी नाका हुँदै नेपाल भित्रिने नागरिकको सँख्या ५ हजार ७ सय ६६ रहेको छ ।