धरान: वेवारिसे, सहाराविहिन भएका एवं सडक मानवहरुलाई व्यवस्थितरुपमा राख्ने उद्देश्यले वृद्धाश्रम बनाउन धरानमा जग्गा खोजी शुरु भएको छ ।

वृद्धाश्रमको लागी लगानी गर्ने दाताहरु तयार भएपछि धरान उपमहानगरपालिकाले जग्गा खोजी शुरु गरेको हो । सडक मानवहरुलाई पनि राख्ने गरि वृद्धाश्रम बनाउन जग्गा खोजी भइरहेको धरानका मेयर तिलक राईले जानकारी दिए । उनका अनुसार धरान र विर्तामोडका दाताहरुले वृद्धाश्रम बनाउन इच्छा देखाएकोले जग्गा खोजी गरिएको हो ।

केही दिनअघि मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहितको टोलीले लांघाली सामुदायिक वन समुहमा जग्गा हेरेका थिए । लकडाउन यता धरानका सडक मानवहरुलाई लांघाली वन समुहको आवास गृहमा राखिएको र वन समुहलाई पनि जग्गा उपलब्ध गराउन आग्रह गरिएकोले दाताहरुसहित गएर स्थलगत हेरिएको मेयर राईले बताए । ‘हामीले जग्गा उपलब्ध गराउनुपर्ने छ, लांघाली वन समुहको पनि हेर्यौं, अन्यत्र पनि खोजी भइरहेको छ,’मेयर राईले भने ।

वृद्धाश्रम धार्मिक पर्यटनलाई प्रर्वद्धन हुने गरिको अवधारणामा निर्माण गरिनेछ । धार्मिक मठमन्दिर एवं चारधाम जस्तो भएमा पर्यटकहरु पनि आउने र दान पनि गर्ने भएकोले यो अवधारणा अघि सारिएको हो । त्यसरी संकलन हुने रकमले वृद्धाश्रम सञ्चालन पनि हुने मेयर राईले बताए । ‘डे केयर सेन्टर जस्तो पनि गर्ने भन्ने छ । वृद्धवृद्धाहरुलाई बिहान लगेर राख्ने र बेलुका घर फर्काउने । धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न मठमन्दिर, चारधाम पनि बनाउने भन्ने छ,’मेयर राईले भने ।