धरान: कोरोना महामारीको बीचमा पनि नेपालीहरुको महान् चाड दशैं, तिहार र छठ पर्व आइसकेको छ । कोरोनाले गर्दा विगतमा जस्तो धुमधामका साथ चाडपर्व मनाउने अवस्था छैन, तर पनि बजारमा केही भिडभाड र किनमेल चलिरहेको छ ।

चाडपर्वको बेला मानिसहरुको गतिविधि बढी हुने, आर्थिक र धार्मिक गतिविधि पनि बढ्ने हुँदा अपराधको घटनाहरु पनि बढी हुने सम्भावना हुन्छ । त्यसैले चाडपर्वमा सुरक्षा चुनौती हुने गर्छ । यही कुरालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरेको छ । जिल्लाभरि सुरक्षा योजना अन्तर्गत प्रहरी प्रमुखसहित करिब १२ सय प्रहरी परिचालन गरिएको छ । एक जना एसपी, ३ जना डिएसपी र ११ जना प्रहरी निरीक्षकसहित १२ सय प्रहरी परिचालन भएका छन् । दशैं, तिहार र छठ पर्वको बेला हुनसक्ने घटनाहरुलाई ध्यान दिदै प्रहरी प्रमुख आफै परिचालन हुने गरि सुरक्षा योजना तयार गरिएको एसपी कमल थापाले जानकारी दिए ।

जिल्लाको समग्र सुरक्षा अवस्था, अपराधिक गतिविधिको अनुगमन, निर्देशन लगायतको काम प्रहरी प्रमुख एसपी थापाबाट नै हुनेछ भने जिल्लाभरिको सम्पुर्ण सुरक्षाको अनुगमन गर्न डिएसपीको कमाण्डमा एउटा र प्रहरी निरिक्षकको कमाण्डमा एउटा टोली परिचालन पनि शुरु भइसकेको छ । एसपी थापाका अनुसार चारपांग्रे सवारीसाधानमा पनि आवश्यक जनशक्ति र १७ वटा मोवाइल टोली परिचालन गरिएको छ । यस्तै, मोटरसाइकलमा ७० वटा क्विक रेस्पोन्स टिम(क्युआरटि), साइकल गस्ती ६ वठा र पैदल गस्ती १२ वटा तयार भएको छ । साथै, चाडपर्वमा हुने अपराधिक कार्य गर्नेलाई पक्राउ गर्न, सुचना संकलन गर्नलगायत कार्यमा १० वटा सादा पोशाकको टोली पनि परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले मुख्य बजार, चोक, भित्रि एरियालगायतलाई सुरक्षित बनाउन ९५ वटा पिकेटको व्यवस्थाप पनि गरेको छ । दुर्घटनालाई न्युनिकरण गर्न जिल्लाभरि चेकिङलाई तीब्रता दिइएको पनि एसपी थापाले बताए । ‘जिल्लाभरि ३० वटा चेकिङको व्यवस्था गरिएको छ, उपयुक्त स्थान र टिम फरक पारेर पुर्वपश्चिम राजमार्ग, कोशी राजमार्ग र भित्रि सडकहरुमा चेकिङ गर्नेछ,’उनले भने,‘महेन्द्र राजमार्ग र कोशी राजमार्गमा ट्राफिक प्रहरीसहित चौबिसै घण्टा चेकिङको व्यवस्था छ ।’

जिल्लाको कुने पनि ठाउँमा निषेधित गतिविधिलाई नियन्त्रण गर्न, एरियाको कर्डन गरि कारबाहीको लागि परिचालन गर्न रिजर्भ टोली पनि तयार अवस्थामा राखिएको छ । एसपी थापाका अनुसार जिल्ला प्रहरी कार्याल्यमा प्रहरी निरीक्षकको कमाण्डमा १५ जना, इलाका प्रहरी कार्यालय रधान र इटहरीमा १५, १५ जना, इलाका प्रहरी कार्यालय पकली, दुहबी र महेन्द्रनगरमा सईको कमाण्डमा १०, १० जना गरि ७५ जना टोली आवश्यक हातहतियारसहित स्टेण्डबाई राखिएको छ ।

जिल्लामा भित्रिने र बाहिरिने लामो तथा छोटो दुरीको सवारीसाधनहरुका यात्रुहरुको सुरक्षाको लागि इनरुवाको बसपार्क, धरानको बसपार्क, इटहरीको बसपार्क, दुहबीको फुटबल चोक, इटहरीकै कान्छी चोक पकलीमा सहायता कक्षको समेत स्थापना गरिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरि, धार्मिकस्थलहरुमा हुने भिडभाडलाई मध्यनजर गर्दे जुनियर प्रहरी अधिकृतको कमाण्डमा परिचालन हुने गरि ७५ जनाको १५ वटा टोली व्यवस्था गरिएको पनि एसपी थापाले जानकारी दिए ।