सुनसरी: इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा तालाबन्दी गरेको छ ।

आज बजार अनुगमनका क्रममा विराट पाथीभरा अस्पतालको वोर्ड राखेर संचालन गरेको पोलिक्लिनिकमा तालाबन्दी गरेको हो । उपभोक्ता हित संरक्षण समिति संयोजकसमेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबन्दी गरेको हो । दर्ता नगरि गैरकानुनी तरिकाले अस्पतालको रुपमा संचालन गरेको पाइएकाले तालावन्दी गरिएको उपमेयर गौतमले बताइन् । साथै, सो पोलिक्लिनिकबाट म्याद गुज्रिएका औषधीहरु पनि वरामद गरिएको छ ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईका अनुसार आज इटहरी मेडिकल हल, शैलुङ मेडिकल हल, पञ्चकोशी हेल्थ सर्भिस सेण्टर प्रालि, कलस फार्मेसी गरि ५ वटा फार्मेसी तथा मेडिकलहरुको अनुगमन गरिएको छ । केही फार्मेसी तथा मेडिकलमा औषधी ब्यवस्था विभागमा दर्ता नगरिएका खाद्यपुरक समाग्री पनि बेच्न राखिएको पाइएको औषधी ब्यवस्था विभागका प्रतिनिधि सरोज सुवेदीले बताए ।