सुनसरी: प्रहरीले कोशी गाउँपालिका १ पुरी टोलमा आकस्मिक चेक प्वाइन्ट थापेर जाँच गर्दा दुई युवा लागुऔषधसहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय लौकहीको टोलीले नेपाल भारत आवतजावत गर्ने भित्रि सडकमा आकस्मिक चेक प्वाइन्ट थपेर सवारी चेकजाँच गरेको थियो । सोही क्रममा को १७ प २८१९ नम्बरको मोटरसाइकलमा सवार २ जना पक्राउ परेको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक कोशी गाउँपालिका ५ का २२ बर्षीय अशोक यादव र पछाडि सवार भारतको त्रिवेणी ग्रामपञ्चायकका २२ बर्षीय सन्तोष कुमार यादव रहेका छन् ।

प्रहरीले दुवैले बोरामा लागुऔषध बोकेको वरामद भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरुको साथबाट डाइलक्स डिसि १०० एमएल लेखिएको ३५ बोतल वरामद भएको छ । यस्तै, स्पास्मो प्रोक्सिभन प्लस १०८० क्याप्सुल पनि वरामद भएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।